झापामा ७ हजार बढी पिन्ट रगत संकलन, इसाई समाजले एकै दिन गर्‍यो १०२ पिन्ट रक्तदान

खगेन्द्र कार्की

दमक – झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रमा आर्थिक वर्ष २०८२/८३ मा ७ हजार २ सय १९ पिन्ट रगत संकलन भएको छ। यो संख्या पूर्वी नेपालका रक्तसञ्चार सेवा केन्द्रमध्ये सबैभन्दा बढी रहेको दाबी गरिएको छ।
दमक, बिर्तामोड र भद्रपुरमा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमध्ये दमकमा नियमित रक्तदान कार्यक्रम र स्वेच्छिक रक्तदानमार्फत सबैभन्दा बढी रगत संकलन हुने गरेको केन्द्रका प्रवर्द्धक सिद्धार्थ दाहालले बताए। उनका अनुसार केन्द्रमै पुगेर रक्तदान गर्नेको संख्या मात्रै वार्षिक करिब १ हजार ५ सय पुगेको छ।
दाहालले मासिक औसत ६ सय पिन्ट रगत संकलन हुँदै आएको बताए। उनका अनुसार दमकमा २०५५ सालदेखि नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ। यहाँ संकलित रगत दमकका साथै बिर्तामोड, विराटनगर र धरानका अस्पतालमा आपूर्ति हुँदै आएको छ। तीमध्ये सबैभन्दा बढी रगत विराटनगरका अस्पतालमा खपत हुने गरेको प्रयोगशाला इन्चार्ज उमा श्रेष्ठले जानकारी दिइन्।
यसैबीच, विश्व रक्तसञ्चार स्थापना दिवसको अवसरमा दमक नगर इसाई समाजले मंगलबार आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ४० महिलासहित १ सय २ जनाले रक्तदान गरेका छन्। कार्यक्रम संयोजक युवराज गजमेरले उक्त रक्तदानबाट १ सय २ पिन्ट रगत संकलन भएको जानकारी दिए। उनले यो समाजको ४८औँ रक्तदान कार्यक्रम रहेको बताए।
समाजका अध्यक्ष हेमन्त सुब्बाले वार्षिक कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए। कार्यक्रममा इसाई धर्मावलम्बी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
समाजका पूर्वअध्यक्ष आकाश थुलुङले धार्मिक सहिष्णुता, मानवीय सेवा र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले रक्तदानसँगै सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिइएको बताए। रक्तदातालाई मायाको चिनोस्वरूप फूलका बिरुवा प्रदान गरिएको थियो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईँको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष राजकुमार नाछिरिङ राईले शान्ति प्रार्थनासहित कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा वक्ताहरूले रक्तदानलाई जीवनदानको अभियानका रूपमा निरन्तर अगाडि बढाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवीय सेवाको संस्कृतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
खेलाडीसहित तीन विद्यार्थी सम्मानित
उक्त अवसरमा समाजले आफ्ना सदस्यका परिवारबाट २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। सम्मानित हुनेमा नाओमी मोहरा (जिपिए ३.५४), रेविका लावती (३.५०) र माहेल राई (३.२९) रहेका छन्।
त्यसैगरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोतर्फ रजत पदक विजेता दमक–५ की रेशिका धिमाललाई नगद १० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको समाजका सचिव अजय पाठकले बताए।

खगेन्द्र कार्की
प्रतिक्रिया