मोरङ। बारी भरी लटरम्म गोलभेडा फलेका छन्। छेउमा खोर्सानी बोटै थाम्न नसक्ने गरि झुप्पो झुप्पो फलेको छ। बैगुन पनि उस्तै सप्रिएर आएको छ। सुनसरी रामधुनी नगरपालिका वडा नं. २, शिवनगरका हरि संकर चौधरी हामी पुग्दा यीनै टमाटार र खोर्सानीको गोडमेल गर्दै थिए। उनले करिव १ कठ्ठा क्षेत्रफलमा खोर्सानी र करिव ३ धुर जग्गामा गोलभेडा लगाएका छन्। करेसाबारीको बाँकी ठाउँमा उनले कुरिलो, बैगुन र साग पनि सँगसँगै फलाउदै छन्।
अबको केही दिन उनलाई गोलभेडा र खोर्सानीको विक्रि गर्न भ्याइ नभ्याइ हुनेवाला छ। किनकि गोलभेडा र खोर्सानी बेच्ने बेला हुन लागेको छ। गोलभेडा त उनले आलाकाचामै १ क्विन्टल त घरैबाट विक्रि गरीसकेका रहेछन्। गाउँमा विहाभोज वा अन्य कार्यक्रम हुँदा मानिसहरु गोलभेडाको लागि उनैकोमा आउन थालेका छन्। उनको करेसावारीको उत्पादन विक्रिको लागि बजार पनि अभाव नभएको उनी बताउँछन्।
अचम्मको कुरो त के हो भने, यसको लागि न उनी कतै उन्नत वीउको खोजी गर्दै दौडिए। न समय अनुसारको वाली छनौट गर्न, न उनले पीर लिनु पर्यो। न उनलाई बालीमा लाग्ने किरा वा कुनै प्रकोपको बारेमा ज्ञान छ। उनी कृषि विज्ञ पनि होइनन्। उनको करेसाबारीमा लगाइएको बाली ई.टी.सी नेपाल र सुनसरीको झुम्का स्थित सेभ द अर्थको संयोजनमा सञ्चालित डेमो करेसाबारी अन्तर्गतको कृषि परियोजना हो। सेभ द अर्थले नै उनलाई वीउ र बेर्ना दियो। रोप्ने विधि र टनेल निर्माण, घेराबारा लगायताका सामग्री पनि उनलाई संस्थाबाट नै प्राप्त भयो। उनी त्यसको स्याहारसुसार गर्छन्, गोडमेल गर्छन्, फलेको आफू पनि खान्छन्, अनि विक्रि पनि गर्छन्। यस वापत् उनले उक्त संस्थालाई केही पनि फिर्ता गर्नु पर्दैन।
यतिमात्र होइन कि, उनलाई गोलभेडा र खोर्सानी सम्बन्धि प्राविधिक सल्लाह सुझाव पनि सेभ द अर्थ र ई.टी.सी. नेपालका कृषि विज्ञ आएर नै दिने गरेका छन्। समयसमयमा त्यहाँबाट उनको करेसाबारी निरीक्षण गर्न कृषि प्राविधिक पुग्ने गरेका छन्। उनीहरुले उनलाई बालीमा कुन प्रकोप देखियो, त्यसलाई कसरी हल गर्ने, कुन समयमा विरुवामा सिचाइ गर्ने आदिबारे निशूल्क सल्लाह दिन्छन्। हरिसंकर पनि प्राविधिकले भने अनुसारको बालीको रेखदेख गर्छन्। उनले कृषि सम्बन्धी, बाली छनौट, बेर्ना उत्पादन, धान खेती, मकै खेती, तरकारी खेती, च्याउ खेती, टनेल निर्माण, किट्नासक औषधी बनाउने घरेलु तरिका जस्ता विभिन्न तालिम पनि लिएका छन्। उनी यसै संस्थाबाट कृषि भ्रमणको शिलशिलामा दाङ अनि चितवनसम्म पुगेको वताउछन्।
सेभ द अर्थले रामधुनीका विभिन्न वडामा गरी कूल ४४ महिला समुह गठन गरेको छ। प्रत्येक टोल वा गाउँमा निश्चित घरधूरी छनौट गरी संस्थाले डेमो करेसाबारी सञ्चालन गर्ने गरेको छ । हरि संकरको जग्गामा लगाइएको डेमो पनि संस्थाले यस करेसाबारीबाट हेरेर यहाँका अन्य स्थानीयले पनि उत्पादनमुखी कृषि अवधारणामा लाग्ने प्रेरणा मिलोस् भन्नका लागि रहेको वताउछन सेभ द अर्थ सुनसरीमा कृषि फाँटमा कार्यरत जेटीए हरि नारायण चौधरी। थोरै क्षेत्रफलबाट धेरै उत्पादन लिन डेमो अवधारणाले किसानहरुको ध्यान तान्ने गरेको छ।
हरिसंकरले तालिमबाट सिकेको सीपलाई आफ्नो बारीमा लगाइने कृषि उपज उत्पादनमा सदूपयोग गर्ने गरेका छन्। उनले घरेलु विधि अपनाउदै तालिम र यूटुव हेरेर तामाको तार, मोही, भात, प्याजको बोक्रा, कागतीको रस, कागतीको बोक्रा, आदि वस्तुहरु मिलाएर अर्गानिक किट्नासक औषधी पनि बनाएर राखेका छन्।
त्यसो त संस्थाबाट पाएको यो सुविधाले हौसिएका उनी लामो समयदेखि गर्दै आएको निर्वाहमुखी कृषिभन्दा व्यवसायिक ढङ्गले अघि बढेको भए अझ धेरै प्रगती गर्नेरहेछु भनेर घरिघरि छुक्छुक गरी रहन्छन्। आफ्नो गाउँबाट २०३४ सालमा एसएलसी पास गर्ने २ जनामध्ये हरिसंकर पनि एक थिए। उनले २०३६ सालदेखि करिव पाँच वर्ष प्रावि तहको शिक्षक भएर पनि काम गरे। शिक्षित भएकै कारण उनी सिक्ने र बुझ्ने कुरामा अरु किसानभन्दा केही कदम अघि नै हुन्छन्। उनले सेभ द अर्थकै सहयोगमा पाएको लौका, भिन्डी, करेला, फर्सी आदिको बीउबाट बेर्ना उत्पादनको काम पनि गरिरहेका छन्। काक्रो खेतीमा उनले मनग्य आम्दानी लिन सकिने बुझेका रहेछन्। उनले अब बारीभरी काक्रो फलाउने योजना बनाएका छन् । गाँजर पनि लगाउने सोच छ।
सेभ द अर्थको यो परियोजनाले थोरै क्षेत्रफलबाट कसरी धेरै उत्पादनसँगै आम्दानी पनि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। टोलटोलमा लगाइएको डेमा करेसाबारी देखेर वरपरका स्थानीय पनि यस किसिमको खेती गर्न आकर्षित बनेका छन्। यसरी निर्वाहमुखी खेती गरिरहेका स्थानीयहरुलाई डेमो करेसाबारीले व्यवसायिक खेतीतर्फ उन्मुख हुन प्रेरणा दिएको छ।
हरिसंकरले फलाएको अर्गानिक तरकारीबारे ई.टी.सी नेपालका कृषि अधिकृत आकाश साह यस किसिमको करेसाबारीबाट किसानले स्वस्थ खानेकुरा खान पाउनुका साथै अर्गानिक उत्पादनका कारण किसानले बजार भाउ पनि बढी पाउने वताउछन्। साथै यस किसिमको खेती एकल किसानले मात्र नभइ सामुहगत रुपमा गर्न सकिए, कृषि उत्पादन वृद्धी गरी एकैपटक धेरै किसानलाई आत्मनिर्भर बनाउन सकिने उनको तर्क छ।
हाल रामधुनीका विभिन्न वडामा सञ्चालित डेमो अवधारणा किसानलाई कृषि खेतीतर्फ आकर्षण गर्न सफल बनिरहेको छ। जग्गा भएर पनि बाँझो छोड्न बाध्य किसानहरुलाई यस किसिमका कार्यक्रम, कृषिबाट जिविकोपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ। थोरै क्षेत्रबाट धेरै उत्पादन दिलाउने यो अवधारणा अन्य स्थानीय तहले आफ्नो क्षेत्रमा लागू गराए कृषकको सहज जीवनयापनसँगै आम्दानीको दरिलो श्रोत बनाउन सकिने निश्चित छ।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो