विराटनगर । पछिल्लो समयमा आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको ज्यान गएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबारदेखि परेको पि–मनसुनी भारी वर्षाबाट आएको बाढी र पहिरोबाट सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । इलाममा १७ पुरुष र २० महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।इलामको सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको छ । यस्तै देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ ।इलामकै माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी सन्दकपुर गाउँपालिकामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।पहिरोमा परि पाँचथरमा २ जना, उदयपुरमा २ जना झापामा २ जना खोटाङमा १ जना र मोरङमा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोले पुरेर र खोलाले बगाएर पाँचथरको तुम्वेवा र फाल्गुनन्द गाउँपालिकामा गरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीय कान्छीमाया शेर्मा र फाल्गुनन्द गाउँपालिका ३ का १७ वर्षीय मिसेक नेम्वाङ रहेका छन् ।शेर्माको घर माथिबाट आएको पहिरोले पुरेर मृत्यु भएको हो भने नेम्वाङको निबु खोलाले बगाउँदा मृत्यु भएको हो ।प्रहरीका अनुसार पहिरोमा परि पाँचथरमा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा मिक्लाजुङ–३ सोलुम्बाकी ३७ वर्षीय मनमाया कार्की, फाल्गुनन्द ५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द–१ आलुवारीकी ७२ वर्षीय सुकमाया आङदेम्बे रहेका छन् ।उदयपुरको बेलका–४ मा मदन भण्डारी राजमार्गको गाईघाट–चतरा खण्डमा खोलाको कजवे तर्ने क्रममा शनिवार दुई जनाको मृत्यु भएको छ ।बा ४ ख १६२८ नम्बरको यात्रुवाहक हायस बाढीले बगाउँदा एक जनाको मृत्यु भएको हो । हायसमा २२ जना सवार थिए ।त्यसमध्ये मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ३८ वर्षीय मञ्जु अधिकारीको बाढीले बगाएर मृत्यु भएको हो । अन्य २१ जनाको सकुशल उद्धार भएको छ । अर्का एक जनाको भने प्रहरीले नाम खुलाएको छैन ।झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं। ४ कोटीहोममा माई खोलाको बिच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ ।उक्त शवको पहिचान हुन सकेको छैन । शनिवार बाह्रदशी गाउँपालिका वडा नं। ४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगलसिं मुर्मुको खोलाले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण आएको भेलमा परेर विराटनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका ९१६ स्थित सुगर मिल नजिकैको कलभर्ट छेउको खाल्डोमा पानीको भेलले बगाउँदा भारत घर भई सोही स्थानमा डेरा गरी बस्ने ३५ वर्षीय अनिता राउतको मृत्यु भएको हो ।खोटाङमा खोलालाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका सुमन विश्वकर्माको मृत्यु भएको छ । उनलाई रावा बेसी गाउँपालिकास्थित हौँचुर खोलाले बगाएको थियो ।२१ वर्षीय विश्वकर्मा रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित मावली घरमा दसैँको टिका लगाएर फर्किने क्रममा खोलाले बगाएको हो ।१० हजार बढी विस्थापितकोशी प्रदेशमा बाढी र पहिरोका कारण १० हजार भन्दा बढी विस्थापित भएका छन् । उनीहरूलाई स्कुल सार्वजनिक भवनमा राखिएको छ । विस्थापित भएकाहरू केही आफन्त र छिमेकीको शरणमा समेत रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले बताए ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घर विस्थापित भएका छन् । २६ हजार ९८४ जना विस्थापित भएका छन् । बाढी र पहिरो र डुबानमा फसेका ५३२ जनाको सकुशल उद्धार गरिएको छ ।प्रहरीका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।मोरङमा २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन् । तीमध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका छन् । मोरङमा केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विस्थापित भएको मोरङमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।उनका अनुसार विराटनगर–१२ बखरीमा ३५० विराटनगर–२ पूर्वटोलमा ३५ घर डुबानमा परेका छन् । विराटनगर–५ शंकरबारी टोलमा २० घर विराटनगर–८ मा ११ घर विस्थापित बनेका छन् ।झापामा ५ हजार घर डुबानमाअविरल वर्षाका कारण झापाका खोलाहरूमा आएका बाढीका कारण ५ हजारभन्दा बढी घर डुबेका छन् । बाढीका कारण झापाका विभिन्न पालिकाहरूमा २५ हजारभन्दा बढी विस्थापित बनेका छन् ।सबैभन्दा बढी झापा गाउँपालिकामा ५ हजार ४ सयभन्दा घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।यस्तै शिवसताक्षी, गौरीगन्ज, गौरादह, अर्जुनधारा र भद्रपुरमा पनि बाढीले प्रभावित गरेको छ । झापा गाउँपालिका पुरै जसो जलमग्न रहेको प्रहरीले जनाएको छ ।सुनसरीका दक्षिणी पालिका जलमग्नसुनसरीको विभिन्न नदी र खोलामा बाढी आउँदा सयौँ घर डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले जिल्ला सदरमुकाम इनरुवाको वडा नम्बर ३, ४, ९ बबिया र १० जल्पपुर सहित दर्जनौँ बस्ती जलमग्न भएका छन् ।सुनसरी खोलाको बाढीले नै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ को उराव टोल, सदा टोल, मुस्लिम बस्ती, यादव टोल, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ को बाबा पेपर मिल, विभिन्न स मिल, टपरा टोल, मुस्लिम बस्ती र वडा नम्बर ७ को दास टोल, मण्डल र यादव टोल डुबानमा परेको छ । इनरुवा नगरपालिका १० को जल्पपुर सहित मरिया खोला किनारमा बस्ने मुस्लिम बस्ती डुबानमा परेको छ ।मेची राजमार्ग अवरुद्धमेची राजमार्ग अन्तगत इलामका ठाउँ ठाउँमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको भए पनि मेची राजमार्ग अझै सञ्चालनमा समस्या रहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।इलामको राज दुवालीमाथिको सडकमा पहिरो झरेको छ । गोदक–माई खोला सडक खण्डमा धेरै स्थानमा पहिरो गएको छ । यस्तै इलाम चुरे घाँटीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । इलामकै पुुवाखोलामाथि नेपालटारतर्फ पनि राजमार्गको केही भाग बगेको छ ।इलाम–झापा जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्घा सडकमा पर्ने पुवा खोलाको बेली ब्रिज पनि शनिवार रातिको बाढीले बगाएको छ । माई खोलाको बेलासे पुल पनि सवारी साधन सञ्चालन हुन नसक्ने गरी क्षतिग्रस्त भएको छ ।यस्तै सिमल गोलाइ तिल्केनी सडकबिचको जोगमाई खोलामा बनाइएको बेलिब्रिज पनि बाढीले बगाएको छ ।बाढीका कारण देउमाई नगरपालिका र माङ्सेबुुङ गाउँपालिकाबिच पर्ने देउमाई खोलाको पक्की पुलमा पनि क्षति पुगेको छ । गजुरमुखीमा पुलको आधा भाग बाढीले बगाएको छ ।कोशी राजमार्ग अन्तरगत धरान र लेउतीमा पहिरो खसे पनि पहिरो हटाइएपछि सो सडक सुचारु भएको छ । बिहानैबाट सो सडकमा यातायात सञ्चालनमा रहेका छन् ।पूर्व पश्चिम सडक खण्ड अन्तरगत झापामा बाढीले डूाइभर्सन बगाएको भए पनि वैकल्पिक बाटो बाट सवारी साधन सञ्चालनमा ल्याएको छ । तमोर कोरिडोरको बाटो पनि आंशिक रूपमा सञ्चालनमा आएको छ ।