असहिष्णु, असभ्य र अमर्यादित छुद्र बोल्ने राजनीतिक संस्कार

खगेन्द्र कार्की

नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा भाषाको सभ्यता, मर्यादा र सहिष्णुताको स्तर क्रमशः खस्कँदै गएको छ । राजनीतिक वादविवाद, आलोचना र असहमतिको स्थानमा व्यक्तिगत अपमान, गालीगलौज र छु बोलीले ठाउँ लिइरहेको छ । राजनीतिज्ञहरूका असभ्य अभिव्यक्तिहरूले देशको राजनीतिक संस्कार मात्र होइन, सामाजिक सौहार्द र सभ्यताको मर्ममा पनि गहिरो प्रहार गरिरहेका छन ्।

झाँक्रीको अभिव्यक्ति र त्यसपछि उठेको विवाद

पूर्वमन्त्री रामकुमारी झाँक्रीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले पछिल्लो समय ठूलो विवाद निम्त्याएको छ। पत्रकार सन्तोष सापकोटाले सामाजिक सञ्जालमा साझा गरेको भिडियोमा झाँक्रीले भनिन् —“एउटा बेकुफ मन्त्री भागेर चुनाव गराउन हिँडेको गरिखान धौ–धौ भएर मागी हिंड्ने मान्छेहरुको तारिका हो यो । गरिखान गाह्रो भएपछि मागी खान सजिलो छ ।”

यो भनाई सामाजिक अभियन्ता महावीर पुनलाई लक्षित गरिएको बुझिएपछि बहस चर्कियो। पुनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै एमालेभित्र यस्ता ‘कुदृष्टि भएका नेता’ बढ्दै जाँदा पार्टी पतनतर्फ गएको टिप्पणी गरे । उनले आफू वा अरू इमानदार नागरिकमाथि गरिएको अपमानलाई अस्वीकार्य बताउँदै “आफूहरू मात्र राम्रो र अरू सबै नराम्रो भन्ने मानसिकताले देश नबन्ने” अभिव्यक्ति दिएका छन् । त्यसो त यस्ता बोलीले लक्षित व्यक्तिलाई भन्दा बढी हानी नोक्सानी आफु र आफ्नो समूह वा दललाई हुने गर्दछ भन्ने हेक्का भइदिएको भए यस्ता कुबाक्य आउने थिएनन् होला । विभिन्न सञ्चार माध्यमले महाविर लक्षित यो टिप्पणीले ब्यालेटमा मत महाविरको पक्षमा खसाउन बाध्य बनाउने विश्लेषण पनि गरिएको छ ।

त्यसो त झाँक्रीको यो नै विवादित बोली नयाँ होइन, यस अघि पनि नेतृत्व पंक्तिमाथि ठूल्ठूला आरोपसहितका झाक्रीका विवादित बोलीको शृंखला  नै छन् र उनी नै यस्ता बोलीको नेतृ मात्रै पनि होइनन् । नेतृत्वमा रहने उच्चस्तरीय नेताहरुबाटै उनले पनि यस्तो बोल्न सिकेकी हुनसक्छ । नेतृत्वले जस्तो सिकाउँछ तलकाले त्यस्तै सिक्ने हो भन्ने उदाहरण पनि हुन झाक्री ।

अघिल्ला वर्षहरूमा पनि उनले केपी शर्मा ओली र माधवकुमार नेपालविरुद्ध असभ्य भाषिक प्रहार गरेकी थिइन् । २०७९ सालमा बुटवलमा आयोजित भेलामा उनले माधव नेपाललाई ‘काँधमा मरेको सिनो बोकेको जस्तो’ भनेकी थिइन्, जसले पार्टीभित्र तीव्र आलोचना जन्मायो ।

त्यसरी नै एमालेका सचिव महेश बस्नेत पनि व्यक्ति लक्षित आक्रामक अभिव्यक्तिका कारण पटक–पटक विवादमा परेका छन् । उनले कहिले पत्रकारलाई धम्की दिएका छन्, कहिले विरोधी समूहलाई सार्वजनिक रूपमा अपमान गरेका छन् । पछिल्लो समय उनले डिजिटल जेनेरेशन फोर्समार्फत अर्धनग्न युवकको तस्बीर सार्वजनिक गरी कानुनी प्रक्रियाको खिल्ली उडाएको घटनाले उनीप्रति प्रश्न उठाएको छ ।

असभ्यता र असहिष्णुताको संस्थागत रूप

नेपालको राजनीतिक बोली अब व्यक्तिगत स्तरमा मात्र सीमित छैन; यो संस्थागत संस्कृतिको रूप लिन थालेको छ । राजनीतिक दलहरूले आफ्ना नेताहरूका असभ्य व्यवहारलाई मौन स्वीकृति दिइरहेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भाषणशैली पनि कटाक्ष, व्यंग्य र अपमानले भरिएको हुन्छ । उनले सहकर्मी, पत्रकार, वा विरोधी नेतामाथि बारम्बार व्यङ्ग्यात्मक वा तल्लो स्तरका शब्द प्रयोग गर्छन् — जस्तै, माधव नेपाललाई “गद्दार, कुहिएको पात, विकाउ माल” आदि भनिएको उदाहरणहरू सर्वविदित छन् । यस्तो भाषिक अभ्यास शीर्ष नेताबाट सुरु भई तल्लो तहका कार्यकर्तासम्म फैलिएको छ, जसले सम्पूर्ण दलको भाषिक संस्कार बिगारेको छ ।

सभ्यताको संकट र राजनीतिक नैतिकताको पतन

राजनीतिक व्यवहार र बोली देशको नैतिक दिशा निर्धारण गर्छ । जब शीर्ष नेताहरूले नै मर्यादाभन्दा बाहिरका शब्द बोल्छन्, तब तल्लो तहका कार्यकर्ताले त्यसलाई ‘साहस’ वा ‘स्पष्टता’को रूपमा बुझ्छन् ।

आज गालीगलौजलाई “कठोर सत्य बोल्ने साहस” मानिन्छ । तर्क र विचारभन्दा बढी आक्रोश र द्वेषको प्रदर्शनलाई महत्व दिइन्छ । राजनीतिक मञ्चहरू नीति बहसका ठाउँ नभएर, एकअर्कामाथि भाषिक प्रहार गर्ने मैदान बन्न पुगेका छन् ।

गाली संस्कृतिको मनोविज्ञान र राजनीतिक लाभ

विश्लेषकहरूका अनुसार नेपाली राजनीतिमा गाली र कटाक्षपूर्ण भाषा प्रयोगका पछाडि तीन कारण छन् ।

१. दलीय प्रतिस्पर्धा र लोकप्रियता मोहः नेताहरू सामाजिक सञ्जालमा ‘ट्रेंड’ हुन असभ्य बोली प्रयोग गर्छन् ।

२. मिडिया र भीड मानसिकताः कटाक्षपूर्ण बोलीले तत्काल ध्यान तान्छ, जसले नेताको ‘पब्लिसिटी’ बढाउँछ ।

३. विचारको अभावः जब नीतिगत बहसका विषयमा तयारी हुँदैन, नेताहरू व्यक्तिगत आक्रमणमा जान्छन् ।

शीर्ष नेताहरूका घृणायुक्त वाणी

नेपाली राजनीतिका प्रमुख पात्रहरू — केपी शर्मा ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ — सबै समय–समयमा आक्रामक र अपमानजनक भाषिक प्रतिस्पर्धामा उत्रिन्छन् । ओलीले माधव नेपाललाई ‘गद्दार, देशद्रोही, कुहिएको फर्सी’ भनेर हल्लाएका छन्, भने माधव नेपालले ओलीलाई ‘घमण्डी, निरंकुश, गफाडी’ भनेर जवाफ दिएका छन्।

प्रचण्ड र ओलीबीचको वाणी युद्ध त झन् तलमाथि नै छैन। प्रचण्डले ओलीलाई ‘भ्रष्ट, धोकेबाज’ भनेका छन् भने ओलीले प्रचण्डलाई ‘भेडाभन्दा काम नलाग्ने’ र ‘राक्षस’ सम्मका शब्द प्रयोग गरेका छन् ।

यी शीर्ष नेताहरूका बोलीले कार्यकर्ताहरूमा समेत द्वेष फैलाउँछ। राजनीतिक मतभिन्नतालाई व्यक्तिगत दुश्मनीमा रूपान्तरण गर्ने प्रवृत्ति त्यसैबाट बढेको हो । सामाजिक प्रभाव र नागरिक चेतना राजनीतिक नेताको बोली जनताका लागि नैतिक सन्देश हो। जब नेताहरूले असभ्य भाषा बोल्छन्, त्यसको असर युवा पुस्ता र आम नागरिकमा पर्छ। असहिष्णुता र द्वेषको वातावरण सिर्जना हुन्छ ।

सामाजिक सञ्जालमा नेताहरूका अनुयायीहरूले पनि उही शैली अपनाउँछन् — आलोचकलाई अपमान गर्ने, विरोधी विचारलाई नष्ट गर्ने। यसरी राजनीति विभाजनको र द्वेषको माध्यम बन्छ, राष्ट्रनिर्माणको होइन ।

सुधारका उपाय ः

यो रोगको उपचार राजनीतिक इच्छाशक्ति र नैतिक जिम्मेवारीले मात्र सम्भव छ । पहिलो, दलहरूले आन्तरिक आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छ । असभ्य भाषा बोल्ने नेतामाथि सार्वजनिक माफी वा अनुशासनात्मक कारबाही हुनुपर्छ ।

दोस्रो, मिडिया र नागरिक समाजले पनि यस्तो व्यवहारलाई ‘मनोरञ्जन’को रूपमा होइन, ‘समस्या’को रूपमा हेरिनुपर्छ । तेस्रो, जनताले चुनावमा भाषिक मर्यादालाई पनि मूल्यांकनको आधार बनाउनुपर्छ — गाली बोल्ने होइन, नीति बोल्ने नेतालाई समर्थन गर्ने संस्कार विकास गर्नुपर्छ।

अन्तमा के भन्न सकिन्छ भने– छु बोली, असभ्य व्यवहार र असहिष्णु मनोवृत्तिले नेपाली राजनीतिलाई रोगी बनाएको छ । आज नेताहरू विचार र कार्यका कारण होइन, गाली र विवादका कारण चर्चित हुन्छन्। यस्तो संस्कारले लोकतन्त्रको मर्म, सभ्यताको मूल र समाजको नैतिक आधारलाई कमजोर बनाउँछ । राजनीति विचारको प्रतिस्पर्धा हो, व्यक्तिगत अपमानको होइन। जबसम्म नेताहरूले आफ्ना शब्द र व्यवहारको जिम्मेवारी लिँदैनन्, तबसम्म नेपालको राजनीतिक संवाद सभ्य बन्न सक्दैन ।

राजनीतिक दलहरूले यदि नैतिक पुनर्जागरणको बाटो नलिइन भने, असहिष्णु, असभ्य र अमर्यादित राजनीतिक संस्कारको यो रोग हाम्रो लोकतन्त्रकै जरो काट्नेछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया