सार्वजनिक सुनुवाइमा दमक नगरपालिकाले सार्वजनिक गर्‍यो वार्षिक प्रगति, कर्मचारी अभाव र फोहोर व्यवस्थापन मुख्य चुनौती

खगेन्द्र कार्की

दमक / दमक नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म भएका विकास निर्माण, सेवा प्रवाह तथा सुशासनसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गर्दै शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरे पनि वडा कार्यालयमा कर्मचारी अभाव, फोहोरमैला व्यवस्थापन, अन्तरनिकाय समन्वय तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण योजना कार्यान्वयनमा समस्या रहेको स्वीकार गरेको छ।
नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख रामकुमार थापाको अध्यक्षता रहेको थियो। उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, इलाका प्रहरी कार्यालय दमकका प्रमुख हरिबहादुर बस्नेत, मालपोत कार्यालय, ट्राफिक प्रहरी, सडक डिभिजन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, हुलाक कार्यालय तथा नगरपालिकाका विभिन्न शाखा प्रमुख उत्तरदाताका रूपमा सहभागी थिए। कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सामाजिक संघसंस्था, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाइमा नगरपालिकाले आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनका क्षेत्रमा चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गरेको थियो। कार्यक्रमको सहजीकरण भिन्न मिडिया एण्ड रिसर्च प्रालिले गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत निरौलाले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म कुल बजेट खर्च ५८.२५ प्रतिशत पुगेको छ। चालु खर्च ७६.३१ प्रतिशत र पुँजीगत खर्च ३०.५२ प्रतिशत रहेको छ। त्यस्तै, कुल अनुमानित आयमध्ये ७५.४२ प्रतिशत राजस्व संकलन भएको छ। नगरपालिकामा ७५ हजार ८७५ करदाता दर्ता भएका छन् भने हालसम्म १८ करोड ५० लाख ८८ हजार ७१५ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको जानकारी दिइयो। राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउन घरदैलो अभियान सञ्चालन गरिएको तथा व्यवसाय अनुगमनलाई तीव्र बनाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको स्वामित्वमा २२ बिघा १० कठ्ठा १३.५ धुर जग्गा रहेको जानकारी पनि सार्वजनिक गरिएको थियो।
सामाजिक विकासतर्फ नगरपालिकाले विभिन्न लक्षित वर्गका लागि सञ्चालन गरेका कार्यक्रमको विवरण प्रस्तुत गरेको छ। ८५९ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरणको तयारी अन्तिम चरणमा पुगेको छ। ११ वटा बेवारिसे शवको व्यवस्थापन गरिएको, आठ जना महिला सहित ४५ जना विपन्न तथा दुर्व्यसनी नागरिकलाई सुधार केन्द्रमा राखी उपचार गरिएको जानकारी दिइयो। वडा नं. ५, ६ मा लघु उद्यम विकास कार्यक्रम तथा वडा नं. २, १० मा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
अपाङ्गता भएका नागरिकका लागि सञ्चालन गरिएका कार्यक्रमअन्तर्गत ४१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने जन्मजात अपाङ्गता भएका ६ जना नवजात शिशु तथा ९५ जना अपाङ्गता भएका व्यक्तिलाई उपचारमा सहयोग गरिएको छ। १५७ जनालाई सहायक सामग्री वितरण गरिएको तथा सात जनालाई कृत्रिम हात तथा खुट्टा जडान गरिएको जानकारी सार्वजनिक गरिएको छ।
महिला तथा बालबालिका संरक्षणतर्फ हिंसापीडित ५६ जना महिला तथा किशोरीको उद्धार र संरक्षण गरिएको छ। नगर बाल सञ्जाल पुनर्गठन गर्दै वडा नम्बर १, २, ७ र ८ लाई बालमैत्री वडा घोषणा गरिएको छ। सात जना सडक बालबालिकाको उद्धार गरी सम्बन्धित निकायमा पठाइएको तथा बालविवाह हुन लागेका तीन घटनामा हस्तक्षेप गरी रोकिएको नगरपालिकाले जनाएको छ। ज्येष्ठ नागरिकका लागि सम्मान, स्वास्थ्य सामग्री वितरण तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि कार्यक्रममा दिइयो।
रोजगारी तथा सीप विकासका क्षेत्रमा १३ जना महिलालाई आधारभूत ढाका बुनाइ तालिम, १६ जनालाई साबुन, सर्फ तथा फिनेल उत्पादन तालिम र २० जनालाई ड्राइभिङ तालिम प्रदान गरिएको छ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य क्षेत्रका उपलब्धि पनि सार्वजनिक सुनुवाइको प्रमुख आकर्षण बने। नगरपालिकाका अनुसार एक वर्षमुनिका बालबालिकालाई बीसीजी, डीपीटी र एमआर खोप नियमित रूपमा प्रदान गरिएको छ भने एक हजार २८९ गर्भवती महिलालाई टिटानस (टीडी) खोप लगाइएको छ। आधारभूत तहमा अध्ययनरत २८६ विद्यार्थीको नाक, कान, घाँटी तथा आँखाको परीक्षण र उपचार गरिएको छ।
नसर्ने रोग पहिचान तथा उपचार कार्यक्रमअन्तर्गत चार हजार ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने ११ स्थानमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गरिएको थियो। मेची आँखा अस्पतालसँगको सहकार्यमा एक हजार ३६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको तथा प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा ७१८ जनाको क्षयरोग परीक्षण गरिएको जानकारी दिइयो।
महिलाको प्रजनन स्वास्थ्य कार्यक्रमअन्तर्गत चार वडामा सञ्चालन गरिएको शिविरमार्फत ६१७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। त्यस्तै, ३०५ जना जटिल रोगका बिरामीलाई मासिक उपचार सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
दमक अस्पतालको अवस्थाबारे जानकारी दिँदै हाल अस्पतालमा २८ विशेषज्ञ चिकित्सक, २४ मेडिकल अधिकृत, दुई दन्त चिकित्सक, १०८ स्वास्थ्यकर्मी तथा ७१ अन्य कर्मचारी गरी कुल २३३ जना कार्यरत रहेको जानकारी गराइयो। आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म अस्पतालले ३२ करोड ४२ लाख ६० हजार १३६ रुपैयाँ आम्दानी गरेको र २१ करोड ४९ लाख ८८ हजार ८८९ रुपैयाँ खर्च गरेको विवरण पनि सार्वजनिक गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईले सार्वजनिक सुनुवाइ स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने प्रभावकारी माध्यम भएको बताइन्। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास तथा सेवा प्रवाहका क्षेत्रमा भएका काम नागरिकसमक्ष राख्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताउँदै नागरिकका सुझाव र खबरदारीलाई आगामी नीति तथा कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृतले अघिल्लो सार्वजनिक सुनुवाइमा उठाइएका अधिकांश प्रश्न तथा गुनासालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रयास गरिएको जानकारी दिए। सार्वजनिक सुनुवाइले नगरपालिकाभित्र रहेका विभिन्न सरकारी कार्यालयबीच समन्वय बढाउने तथा नागरिकका अपेक्षालाई सम्बोधन गर्ने साझा मञ्चको रूपमा काम गरेको उनको भनाइ थियो।
यद्यपि नगरपालिकाले केही संरचनागत चुनौती अझै समाधान हुन नसकेको स्वीकार गरेको छ। वडा कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण उपभोक्ता समिति र ठेक्का प्रक्रियामार्फत सञ्चालन भएका आयोजना समयमै सम्पन्न गर्न कठिनाइ भएको, तालिमलाई उत्पादन तथा रोजगारीसँग जोड्न नसकिएको, अन्तरनिकाय समन्वय कमजोर रहेको तथा फोहोरमैला व्यवस्थापन अझै प्रभावकारी बनाउन नसकिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमको अन्तिम चरणमा सहभागी नागरिक, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले नगरभित्रका विकास निर्माण, सडक, ढल, फोहोरमैला व्यवस्थापन, सेवा प्रवाह, स्वास्थ्य, शिक्षा तथा नगरपालिकाको कार्यसम्पादनसँग सम्बन्धित विभिन्न प्रश्न तथा गुनासा राखेका थिए। सम्बन्धित शाखा प्रमुख तथा कार्यालय प्रमुखहरूले ती प्रश्नको जवाफ दिँदै नागरिकका सुझावलाई आगामी योजना तथा सेवा सुधारका कार्यक्रमहरूमा समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरपालिकाले सार्वजनिक सुनुवाइलाई नागरिक र स्थानीय सरकारबीच विश्वास, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्ने नियमित अभ्यासका रूपमा निरन्तरता दिने जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया