दमक । दमकबाट खेलकुदमार्फत जागेको आशा, उत्साह र सम्भावनालाई साकार पार्दै “दमक खेलकुद महोत्सव” आज केवल प्रतियोगितामा सीमित छैन, यो दमकको पहिचान, प्रतिष्ठा र समृद्धिको अभियान बनेको छ । स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित सुरु गरिएको यस महोत्सवले अहिलेसम्म ३–४ जना राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ भने भविष्यमा अझ धेरै खेलाडी जन्माउने विश्वासलाई मजबुत बनाएको छ ।
स्वास्थ्य, अनुशासन र सामाजिक एकताको आधार खेलकुदलाई दमक नगरपालिकाले प्राथमिकतामा राख्दै अघि बढाएको नगरप्रमुख रामकुमार थापाको भनाइ छ । विषम आर्थिक परिस्थितिका कारण विभिन्न योजनामा कटौती गर्नुपरेको अवस्थामा समेत दमकले खेलकुदलाई निरन्तर प्राथमिकतामा राख्नु आफैंमा उदाहरणीय कदम बनेको उहाँले बताउनुभयो । “खेलकुद केवल मनोरञ्जन होइन, यो युवाशक्तिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने माध्यम हो,” नगरप्रमुख थापाले भन्नुभयो, “१० वटै वडालाई एकै मञ्चमा उभ्याएर दमकलाई खेलकुदमय बनाउने हाम्रो प्रयास सफल बन्दै गएको छ ।”
अघिल्लो वर्षदेखि सुरु भएको दमक खेलकुद महोत्सवको दोस्रो संस्करण–२०८३ भव्य रूपमा सम्पन्न भएको छ । झापाको दमक–१० स्थित अम्बारी खेल मैदानमा बुधबार आयोजित फुटबलको रोमाञ्चक फाइनल प्रतिस्पर्धासँगै महोत्सवको औपचारिक समापन गरिएको हो ।
दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईको अध्यक्षता तथा नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिका शाखा प्रमुखहरू, प्रहरी प्रशासन, सामाजिक अगुवा, वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न खेल संघसंस्थाका पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समापन समारोहअघि कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा जनप्रतिनिधिहरू विजयी बनेका थिए । त्यसपछि सुरु भएको फाइनल खेलमा वडा नं. ३ र वडा नं. ५ बीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । अत्यन्त रोमाञ्चक बनेको ट्राइब्रेकरमा वडा नं. ३ विजयी बन्दै उपाधि चुम्न सफल भयो भने वडा नं. ५ उपविजेतामा सीमित रह्यो ।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथिलगायत अतिथिहरूले नगदसहित ट्रफी प्रदान गरेका थिए । प्रथम हुने वडा नं. ३ ले नगद १ लाख रुपैयाँसहित ट्रफी हात पारेको थियो भने उपविजेता वडा नं. ५ लाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
दमक खेलकुद महोत्सवले खेल प्रतिभाको पहिचान मात्र होइन, युवामा उत्साह, अनुशासन र एकताको भावना विकास गर्दै दमकलाई खेलकुदको उर्वर भूमिका रूपमा स्थापित गर्ने विश्वास थप बलियो बनाएको छ ।
खगेन्द्र कार्की
३१ बैशाख २०८३, बिहिबार ०८:०३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो