भारतको केरलामा बाढीमा परी एक नेपालीसहित ५६ जनाको निधन

फाष्ट मिडिया नेपाल संवाददाता

केरला । दक्षिण भारतको केरला राज्यमा परेको अविरल वर्षा पछि आएको बाढीमा परी एक नेपालीसहित ५६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो ।

प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ। केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विविरण आउन अझै केही समय लाग्ने बीबीसी हिन्दीलाई बताएका छन्। उनले भने, “हामीलाई क्षतिको आकलन गर्नका लागि अझै केही घण्टा लाग्छ।” केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छन्। अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।

स्थानीय अधिकारी डीआर मेघश्रीले सञ्चारमाध्यमलाई बताएअनुसार वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए। वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो। उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ। पहिरोबाट वायनाडका विभिन्न स्थानहरू प्रभावित भएका छन् । केरलामा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ ।

केरला राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।  पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ । बीबीसीबाट


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया