झापा ५ बाट ओली र ४ बाट साँवा र इलाम २ बाट सुहाङको नाम सिफारिस

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । नेकपा एमाले झापाले क्षेत्र नं. ५ बाट पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गरेको छ । शनिबारको बैठकको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ओलीको नाम सिफारिस गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।  कार्कीका अनुसार शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । यो सिफारिसँगै ओली दुई संविधानसभा र पाँच प्रतिनिधिसभा गरेर सातौं पटक चुनाव लड्दै छन् । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष अघिल्लो २०७९  निर्वाचनमा झापा ५ बाट फराकिलो मतान्तरले विजयी भएका थिए । 

त्यस्तै क्षेत्र नं ४ बाट एलपी साँवा सहित तीन जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्रीय कमिटीले दिएको जानकारी अनुसार हीरा थापा र भोजकुमारी नेपाललाई पनि उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।

यसैगरी, नेकपा एमालेले इलामको शनिबारको बैठकले गरेको निर्णय अनुसार क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई सर्वसम्मत एकल सिफारिस गरेको छ । सुहाङ एमालेका केन्द्रीय सदस्य हुन् । गत ०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सुहाङ युवा जमातमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया