ओली–देउवाको राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्यो ऐतिहासिक दाग

zCqnQYsJJSU

शालिग्राम पाण्डे


भ्रष्टाचार उन्मूलन र सुशासनका लागि सडकमा निस्केका जेनजी (जेनरेसन जेड) पुस्ताका युवामध्ये भदौ २३ गते २१ जना र २४ गते २४ जनाभन्दा बढीले रगतको आहुति दिनुप¥यो । सुरुमा युवाहरूले आम जनताको भावनाअनुसारको माग राखेका थिए, सत्ता पल्टाउने योजना थिएन । तर सत्ता र शक्तिको उन्माद भरिएको सरकारले निधार र छाती ताकी–ताकी गोली ठोकेर रगतमा होली खेलेपछि स्थिति भड्किन पुग्यो । परिणामतः मुलुकले इतिहासमै नसोचेको क्षति ब्यहोर्नु प¥यो ।

जेनजी पुस्ताले भ्रष्ट नेताहरूले देश बिगारेकोमा चिन्ता व्यक्त गर्ने गरेका थिए । उनीहरूले आन्दोलनमा जानुअघि बुबाआमा तथा दाजुदिदी पुस्तालाई नैतिक समर्थन दिन तर प्रदर्शनस्थलमा नजान सार्वजनिक आग्रहसमेत गरेका । मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिको विरोध हामीले नगरे कसले गर्ने ?– भन्दै युवाहरू अभिभावकलाई सम्झाई–बुझाई गरेर आन्दोलनमा होमिएका थिए । धेरै युवाहरू विद्यालयको पोशाकमै सडक प्रदर्शनमा उत्रिएका थिए । उनीहरू ‘आचारसंहिता’ बनाएर शान्तिपूर्ण विरोध प्रदर्शनका लागि सडकमा आए ।

युवा तथा किशोर पुस्ताको इच्छा थियो– भ्रष्टाचार अन्त्य गरी देशको मुहार फेर्ने भन्दै उनीहरू आन्दोलित भएका थिए । कतिपय वीर–योद्धाहरू मजदुरी गरेर परिवार पाल्दै आएका थिए । कसैको सहारा थिए– ती योद्धाहरू, जो अनाहकमै सडकमा ढालिए । बुबाआमाको मुटुको टुक्रा खोसियो । आफन्तहरूका लागि आकाश खस्यो । हजुरबुबा–हजुरआमाले नाति–नातिनी गुमाए, बुबाआमाले छोरा–छोरी गुमाए, भाइ–बहिनीले दाजु–दिदी गुमाए, दाजु–दिदीले भाइ–बहिनी गुमाए, मामा–माइजुले भान्जा–भान्जी गुमाए । अन्यायमा परेका जनताले न्याय गुमाए । देशले भविष्यका रत्नहरू गुमायो । राज्यद्वारा भएको आमहत्याको यो घटनाले घर–समाज, गाउँमात्र होइन, देशै अँध्यारो भएको छ । ७७ जिल्ला, सात सय ५३ पालिका शोकमग्न बनेको छ ।

दुईतिहाई बहुमतको दम्भमा रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले रगतको खोलो बगाएर थप केही क्षण भएपनि सत्ता बचाउन खोजे । तर कवि गोपालप्रसाद रिमालले ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ,’ भनेजस्तो समय आएपछि कसैले रोक्नसक्ने कुरो थिएन । बालबालिकाको रगतमा पोतिएर ओलीको उन्मक्त सत्ता–साम्राज्य गल्र्यामगुर्लुम ढल्यो । समयको माग र युवाको भावना होइन, उखान–टुक्का प्रयोग र व्यङ्ग्य–वाण प्रहारमा दक्ष ओली आन्दोलित जेनजी युवालाई ‘केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भन्दै खिसी गर्दै थिए । तर भोलिपल्ट उनले युवा आक्रोशसामु लुरुक्क पर्दै प्रधानमन्त्रीको कुर्सी छोड्नुप¥यो । आफ्नो ज्यान बचाउन सेनाको सुरक्षा–घेराभित्र लुक्नुप¥यो । जनताका सामु जस्तोसुकै निरङ्कुश शासक पराजित हुनैपर्छ भन्ने अर्को एउटा अनपेक्षित नजिर नेपाली माटोमा बन्यो ।

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।’ कवि भूपी शेरचनले भनेझैँ लेखन्त होला, धेरै नेपाली आमाका सपुत देशका लागि मरेर गए । सहिदका परिवारले मुटुको टुक्रा गुमाए । भ्रष्टाचार उन्मूलन र जनताको प्रत्यक्ष शासन सहिदको चाहना थियो । तथापि उनीहरूको सपना पुरा हुने हो–होइन, कुनै सुनिश्चित मार्गचित्र सार्वजनिक छैन । विगतमा पनि मुलुकको आमूल परिवर्तन र जनअधिकार प्राप्तिका लागि धेरै नेपाली युवाहरूको सहादत भएको थियो । तर तिनै सहिदको रगतको टीका लगाएर राज्य सञ्चालनको केन्द्रमा पुगेका लोभीपापीहरूले समयअन्तरमा सहिदको रगत पानी बनाइदिए । परिवर्तनको सपनामाथि तुषारापात गरिदिए ।

लोकतान्त्रिक आवरणमा ओली–देउवा सरकारले निरङ्कुशताका सबै हद पार ग¥यो । छिमेकी चीनको तियानमेन स्क्वायर हत्याकाण्डलाई बिर्साउने गरी आततायी सरकार निहत्था कलिला नागरिकमाथि बर्बर दमनमा उत्रियो ।

ओली–देउवा सरकारलाई तीन करोड नेपाली जनताको धिक्कारेका छन् । ओली–देउवा सरकारले ताकेको बन्दुकको गोलीले यतिखेर दुई सयभन्दा बढी घाइते र ६ दर्जनभन्दा बढी सहिदका आमाहरूलाई कति पोलेको होला ? कसरी सहन गर्न सकेका होलान् ! भ्रष्ट सरकारको भ्रष्टाचारमै रम्ने सोखले ती अबोध निहत्थाको अनाहकमा ज्यान गयो । कठै ती निर्दोष, निहत्था सहिद ! ती अबोधहरूको आत्माले भन्दो हो– ‘आमा हामीलाई गोली हान्ने, हान्न निर्णय गर्ने र आदेश दिने सबैलाई कानुनको कठघरामा उभ्याऊ है ! अधिकार माग गर्र्दा छातीमा, टाउकोमा गोली हान्ने हत्यारालाई उम्किन नदेऊ है !’

ओली–देउवाको सत्तामोहले सहिदहरूको आत्मा रोएको छ । ती आत्माले तब शान्ति पाउने छन्, जब हत्याराहरूलाई न्यायालयले जेलमा हाल्नेछ । भ्रष्टाचारीका काण्डैपिच्छेका फायल खोलेर जेलमा कोचिने छ । देशमा भ्रष्टाचारको उन्मूलन हुनेछ, अनि सुशासन स्थापना हुनेछ । उनीहरुको कुविचार, कुसंस्कार र शासकीय अभ्यासमा देखिएको मनोमालिन्यलाई इतिहासले बारम्बार सम्झिरहनेछ– गठबन्धन सरकारका नेतृत्व तत्कालिन प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई । 

आन्दोलनरत विद्यार्थीहरुले सुनेका थिए, विद्यालय तथा क्याम्पसको पोशाक लगाएकालाई गोली हान्न मिल्दैन । यो अन्तर्राष्टिूय मान्यता हो । तर आततायी, अपराधी, नरपिचास शासकहरूका निम्ति के अन्तर्राष्टिूय मान्यता ? के मानवअधिकार ?

अति सर्वत्र वर्जित हुन्छ । पछिल्लो समय मुलुकमा भ्रष्टाचार अतिचार भएपछि युवाहरूले सम्झे– भ्रष्टहरूका कारण भोकभोकै तड्पिएर मर्नुभन्दा भ्रष्टहरूलाई तह लगाउन, देशमा आमूल परिवर्तन गर्न गोली खाएर मर्नु उचित हो । कम्तिमा बाँच्नेहरूले त सुखसाथ बाँच्न पाउँछन् । नमरी जानु न गरी खानुको अवस्था रहिरहनु भन्दा न्याय र अधिकारको लडाइँ लड्नु उचित हो । 

अन्ततः देशको चिन्ता काँधमा बोकेर नेपाल आमाका सपुतहरू सडकमा आए । न्याय र सत्यको पक्षमा होमिए । सरकारका अवरोधहरू पन्छाउँदै निडरतासाथ अगाडि बढे । हामीले केही गर्नु छ भन्ने सङ्लो मन लिएर विशुद्ध आवाज र खाली मुठ्ठी उठाए । सोचेका थिए– युवाहरूको जनसागर देखेर सरकारमा बस्नेहरूको बुद्धि अवश्य फिर्नेछ । अपराधीहरूले गल्ती सच्याउने छन् । हाम्रो भाग्य र भविष्य सुरक्षित गर्ने वचनबद्ध हुनेछन । तर सत्ताधारीहरूको व्यवहार सोचेभन्दा विपरीत भइदियो । नरसंहारकर्तासँग कसको के लाग्दो रहेछ र ?

बाहिरको घाउ डाक्टरले लेखेको औषधिले निको पार्ला, भित्रको घाउ कसरी निको पार्ने ? त्यो तत्कालीन आततायी प्रधानमन्त्री खड्गप्रसाद –केपी) ओली, ओलीलाई टेको लाउने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नरपिपाशु गृहमन्त्री रमेश लेखकले सत्ता बचाउन रगतको होली खेले । सबै नेपालीले चिनौँ, हेक्का राखौँ– सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक आवरणमा अबोध निहत्था किशोरकिशोरी तथा युवाहरूको छाती र निधारमा ताकी–ताकी गोली हान्ने र हान्न लगाउनेहरूलाई आजीवन काराबासमा नजाकुञ्जेल सहिदहरूको आत्माले शान्ति पाउने छैन । 

कोठाभरी अवैध पैसा थुपारेर, भ्रष्ट, गुण्डा र शक्तिको रापतापमा अबोध किशोरकिशोरी तथा युवाहरू मार्ने हत्याराहरूले यो वा त्यो बहानामा उन्मुक्ति पाउनु हुँदैन । सहिदको आत्माले हामीलाई नधिक्कारोस् । घाइते र सहिद परिवारको आँसु खेर नजाओस् । न्यायप्रेमी नेपाली जनता सचेत हुनैपर्छ । भ्रष्टाचारमुक्त नेपाली समाज निर्माण गर्न र सहिदको सपना साकार पार्न निरन्तर दबाबमूलक, खबरदारी अभियान जारी राख्नुपर्छ । भ्रष्टाचारविरोधी आन्दोलन सफल बनाउन हामी सबै लाग्नुपर्छ ।

...




zCqnQYsJJSU
प्रतिक्रिया