एजेन्सी । सन् २०२५ मा विश्वभर राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेका छन्। नर्वेको ओस्लोस्थित शान्ति अनुसन्धान संस्थाले सार्वजनिक गरेको वार्षिक ‘द्वन्द्व प्रवृत्ति’ प्रतिवेदनअनुसार सन् २०२५ मा कम्तीमा एउटा राज्य संलग्न ६५ वटा सशस्त्र द्वन्द्व दर्ता भएका छन्, जुन सन् १९४६ यताकै सबैभन्दा उच्च संख्या हो। प्रतिवेदनले विश्वव्यापी सुरक्षा अवस्था थप जटिल र चिन्ताजनक बन्दै गएको निष्कर्ष निकालेको छ।प्रतिवेदनका अनुसार भारत–पाकिस्तान, अफगानिस्तान–पाकिस्तान र कम्बोडिया–थाइल्यान्डबीचको सीमा तनाव, साथै रुस–युक्रेन युद्ध र सिरियामा इजरायली सैन्य कारबाहीले राज्य–राज्यबीचका द्वन्द्वलाई पछिल्ला ८० वर्षयताकै उच्च विन्दुमा पुर्याएका छन्।सन् २०२५ शीतयुद्धपछिको तेस्रो सबैभन्दा घातक वर्ष पनि बनेको छ। प्रत्यक्ष लडाइँ तथा राजनीतिक हिंसासम्बन्धी घटनामा करिब दुई लाख ४५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ। तीमध्ये करिब ७६ हजार ५०० नागरिक लक्षित आक्रमणका घटनामा परेका थिए।विशेषगरी सुडानको द्वन्द्वले ठूलो मानवीय सङ्कट निम्त्याएको प्रतिवेदनले जनाएको छ। डार्फर क्षेत्रको एल–फासेर सहरमा भएको घेराबन्दी र हिंसात्मक घटनाका कारण मात्र करिब ६० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ।अनुसन्धानकर्ता सिरी आस रुस्तादका अनुसार पछिल्लो वर्षको तथ्याङ्क असामान्य रूपमा उच्च रहेको छ। उनका अनुसार पछिल्ला पाँच–छ वर्षदेखि एकै समयमा धेरै ठूला द्वन्द्व सक्रिय रहँदा विश्वव्यापी तनाव निरन्तर गहिरिँदै गएको छ।क्षेत्रगत रूपमा अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ, जहाँ राज्य–सम्बन्धित २९ वटा प्रमुख द्वन्द्व दर्ता भएका छन्। त्यसपछि एसिया, मध्यपूर्व, अमेरिका र युरोप रहेका छन्। प्रतिवेदनले एसिया र मध्यपूर्वमा द्वन्द्व तीव्र बन्दै गएको तथा युरोपमा रुस–युक्रेन युद्धका कारण अस्थिरता कायम रहेको उल्लेख गरेको छ।प्रतिवेदनमा इजरायल गाजा, सिरिया, लेबनान, इरान र हुथी विद्रोहीविरुद्धका विभिन्न सैन्य कारबाहीका कारण विश्वका सबैभन्दा सक्रिय सैन्य शक्तिमध्ये एक बनेको टिप्पणी गरिएको छ। साथै, संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि सैन्य तथा आर्थिक दबाब बढेको विश्लेषण पनि समेटिएको छ।उप्पसाला द्वन्द्व तथ्याङ्क कार्यक्रम र उप्पसाला विश्वविद्यालयका तथ्याङ्कमा आधारित प्रतिवेदनले अन्तर्राष्ट्रिय सहकार्य कमजोर बन्दै गएको, संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रभाव घट्दै गएको तथा विश्व थप ध्रुवीकृत बन्दै गएकाले द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष निकालेको छ।
खगेन्द्र कार्की
२६ जेठ २०८३, मङ्गलबार ०६:२१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो