इटहरी–८ को विकासका लागि सांसद चौधरीलाई संयुक्त ज्ञापनपत्र

खगेन्द्र कार्की

इटहरी । इटहरी उपमहानगरपालिका–८ का स्थानीय बासिन्दा, किसान, उद्यमी तथा टोल विकास संस्थाका प्रतिनिधिले सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अशोक चौधरीलाई क्षेत्रको समग्र विकास, कृषि, स्वास्थ्य, पूर्वाधार र सुशासनसँग सम्बन्धित विभिन्न माग समेटिएको संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा स्थानीय पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै भित्री सडक कालोपत्रे तथा इन्टरलक ब्लक बिछ्याउने, पूर्वी गैसारको मुख्य सडक कालोपत्रे गर्ने, विष्णु मार्गमा रोकिएको रु. ५० लाखको बजेट कार्यान्वयन गर्ने तथा डुबान समस्या समाधानका लागि ढल र नाला व्यवस्थापनको गुरुयोजना बनाउन माग गरिएको छ। साथै पूर्वी गैसार अस्थायी प्रहरी बिटमा आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी शान्ति सुरक्षा सुदृढ गर्न आग्रह गरिएको छ।

स्वास्थ्यतर्फ इटहरी अस्पतालमा फिजिसियन, हाडजोर्नी, स्त्रीरोग तथा बालरोग विशेषज्ञको स्थायी दरबन्दी सिर्जना गर्न, ज्येष्ठ नागरिकका लागि नियमित निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्न तथा रोकिएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्न माग गरिएको छ। विद्युत् आपूर्तिमा सुधार, बारम्बार हुने लाइन अवरोध अन्त्य तथा साना उद्योगका लागि ट्रान्सफर्मर क्षमता वृद्धि गर्न पनि ज्ञापनपत्रमा उल्लेख छ।

कृषि क्षेत्रका लागि समयमै मल, बिउ र सिँचाइको व्यवस्था, कृषि औजारमा ५० प्रतिशत अनुदान, बाँझो जमिनको उपयोग, कृषि उत्पादनको उचित बजार र समर्थन मूल्य तथा किसानलाई खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउन माग गरिएको छ।

यस्तै सामुदायिक विद्यालयको स्तरवृद्धि, निजी विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिको अनुगमन, युवालाई सीपमूलक तालिम सञ्चालन तथा सुकुम्बासी समस्याको स्थायी समाधान गर्न पनि ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाइ, विकास योजनाको नियमित अनुगमन, अनुदान वितरणमा पारदर्शिता तथा निर्वाचनका बेला गरिएका प्रतिबद्धताको समीक्षा गर्नुपर्ने मागसमेत गरिएको छ। साथै आगामी संघीय तथा प्रदेश बजेटमा यी योजनालाई प्राथमिकता दिन र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कार्यान्वयन अघि बढाउन सांसद चौधरीसँग आग्रह गरिएको छ।

ज्ञापनपत्र डा. चन्द्रप्रसाद अधिकारीसहित इटहरी–८ का स्थानीय प्रतिनिधिमण्डलले सांसद चौधरीलाई बुझाएको हो।

खगेन्द्र कार्की
प्रतिक्रिया