दमक–७ को सिर्जना टोलमा किरियापुत्री भवन शिलान्यासले रामजानकी मन्दिर प्रवद्र्धनमा नयाँ आशा

खगेन्द्र कार्की

दमक । दमक–७ को सिर्जना टोलमा रहेको रामजानकी मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षासहित मन्दिर परिसरमा सुविधा सम्पन्न किरियापुत्री भवन निर्माण सुरु भएको छ।
दमक नगरपालिका–७ स्थित रामजानकी मन्दिर परिसरमा शनिबार किरियापुत्री भवनको शिलान्यास गरिएको हो। नगरप्रमुख राम थापाले भवनको शिलान्यास गर्दै मन्दिरको संरक्षण, प्रचारप्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा समेत यस संरचनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे। थापाले पनि भवन निर्माणको मुख्य उद्देश्य नगर तथा टोलबासी जसको आर्थिक अवस्था न्युन रहेको छ उनीहरुका परिवारका सदस्यको निधनपछि किरियाकर्म गर्न सहजता प्रदान गर्नु रहेको बताए। सार्वजनिक प्रयोजनका लागि निर्माण हुने यस्ता संरचनाले समुदायमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने उनको भनाइ छ। उनका अनुसार स्थानीय सरकार जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएका सामुदायिक पूर्वाधार निर्माणमा प्रतिबद्ध छ। निर्माण सम्पन्न भएपछि संरचनाको संरक्षण र उचित सञ्चालनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उनले बताए।
यही सम्भावनालाई ध्यानमा राख्दै किरियापुत्री भवन निर्माणलाई मन्दिर परिसर व्यवस्थित बनाउने योजनासँग जोडिएको छ। वडा नं। ७ का वडाध्यक्ष भीम पौडेलका अनुसार भवन निर्माणका लागि ७४ लाख रुपैयाँको लागत स्टिमेट भए पनि ६० लाख रुपैयाँको ठेक्कामा काम भइरहेको छ।
तीन तलाको लागत स्टिमेट भए पनि तत्कालका लागि दुई परिवारले एकैपटक काजकिरिया गर्न सक्ने गरी ट्वाइलेट र बाथरुमसहितको संरचना निर्माण गरिने पौडेलले बताए। मन्दिर र किरियापुत्री भवनका गतिविधि अलग राख्न उत्तरतर्फ कम्पाउण्ड निर्माण गरिने भएकाले मन्दिरको नियमित पूजापाठ तथा अन्य धार्मिक गतिविधिमा असर नपर्ने उनको भनाइ छ।
पौडेलका अनुसार किरियापुत्री भवन निर्माणसँगै जानकी मन्दिरलाई थप व्यवस्थित, आकर्षक र सुविधासम्पन्न बनाउने लक्ष्य पनि छ। यसले एकातिर मृत्यु संस्कारका लागि आवश्यक स्थान नपाउने तथा आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग पुग्नेछ भने अर्कोतर्फ मन्दिरको भौतिक पूर्वाधार विकासका लागि आधार तयार हुनेछ।
२०७० साल चैतमा स्थानीयको जनश्रमदानसहित निर्माण गरिएको रामजानकी मन्दिर पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा लामो समयदेखि अपेक्षाकृत ओझेलमा छ। मन्दिर परिसरमा पर्याप्त जग्गा रहे पनि आवश्यक संरचना निर्माण हुन नसक्दा धार्मिक तथा पर्यटकीय सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन। अब किरियापुत्री भवन निर्माणसँगै क्रमशः अन्य पूर्वाधार थप गर्दै मन्दिरलाई व्यवस्थित र आकर्षक धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार माझीले रामजानकी मन्दिरलाई दमकको मात्र नभई पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। जनकपुरस्थित रामजानकी मन्दिरको धार्मिक महत्वसँग दमकको रामजानकी मन्दिरलाई जोडेर यसको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ।
“मन्दिरलाई धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ,” माझीले भने, “यसका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल र नगरवासी सबैको सहकार्य आवश्यक छ।”
मन्दिर परिसरमा पर्याप्त खुला जग्गा हुनु यसको अर्को सम्भावना हो। भविष्यमा धार्मिक आस्थासँग सम्बन्धित विभिन्न संरचना निर्माण गर्न सकिने भएकाले अहिलेको किरियापुत्री भवनलाई मन्दिरको समग्र पूर्वाधार विकासतर्फको सुरुआतका रूपमा हेरिएको छ।
मन्दिरका पुजारीका अनुसार परिसरको पूर्वतर्फ खोला र खोलाको डिल हुँदै दुवैतर्फ रहेका रुखले शान्त तथा प्राकृतिक वातावरण बनाएको छ। धार्मिक आस्थासँगै प्राकृतिक वातावरणसमेत भएकाले यस क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ। तर आवश्यक पूर्वाधार र बाहिरी क्षेत्रसम्म पुग्ने गरी प्रचारप्रसार हुन नसक्दा मन्दिरमा स्थानीयबाहेकका श्रद्धालुको उपस्थिति अपेक्षाकृत बढ्न सकेको छैन।
रामजानकी मन्दिर कुनै व्यक्ति वा समुदाय विशेषको नभई सबैको साझा आस्थाको केन्द्र भएको स्थानीय गंगा मगर बताउँछन्। मन्दिरको सरसफाइमा स्थानीय समूह तथा टोलवासीले गर्दै आएको सहभागिता उल्लेख गर्दै उनले धार्मिक स्थलको संरक्षण र विकासमा राजनीतिक तथा सामाजिक विभाजनभन्दा माथि उठेर सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार पूर्वी क्षेत्रमा महत्वपूर्ण धार्मिक सम्भावना बोकेको मन्दिर पर्याप्त प्रचारप्रसारको अभावमा लामो समय छायामा परेको भए पनि पछिल्लो समय स्थानीय सरकारको ध्यान पुग्न थालेपछि यसको भविष्यप्रति आशा जागेको छ। दैनिक पूजापाठ हुँदै आए पनि बाहिरी क्षेत्रका श्रद्धालुलाई आकर्षित गर्न थप पूर्वाधारसँगै व्यापक प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ।
मन्दिर व्यवस्थापन पक्षका अनुसार अबको चुनौती भवन निर्माणमा मात्र सीमित छैन। मन्दिरको धार्मिक महत्वलाई स्थापित गर्ने, परिसरमा आवश्यक पूर्वाधार थप्ने, प्राकृतिक वातावरणको संरक्षण गर्ने र बाहिरी क्षेत्रका श्रद्धालुलाई आकर्षित गर्ने गरी दीर्घकालीन योजना आवश्यक छ।

खगेन्द्र कार्की
प्रतिक्रिया