श्रमदाताको सेवाभाव ः सरसफाइ अभियान ६१औँ हप्तामा

खगेन्द्र कार्की

दमक । श्रम संस्कृतिलाई व्यवहारमा उतार्दै श्रम संस्कृति पार्टीका श्रमदाताहरूले सञ्चालन गर्दै आएको साप्ताहिक सरसफाइ अभियान ६१औँ हप्तामा प्रवेश गरेको छ। अभियानअन्तर्गत शनिबार दमक नगरपालिका–७ मा पर्ने रतुवा नदी किनारमा श्रमदान गर्दै सरसफाइ गरिएको छ। स्थानीय वातावरणलाई स्वच्छ, व्यवस्थित र नागरिकका लागि उपयोगी सार्वजनिक स्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रमदाताहरूले नियमित रूपमा अभियान सञ्चालन गर्दै आएका हुन्।
सरसफाइ अभियानमा सहभागी श्रमदाताहरूले रतुवा नदी किनारमा रहेका झाडी, कास तथा फोहोर हटाउँदै नदी आसपासको क्षेत्र सफा गरेका थिए। उनीहरूले केही समयका लागि मात्र गरिने कार्यक्रमभन्दा निरन्तर श्रम र सेवाभावबाट सार्वजनिक स्थानको स्वरूप परिवर्तन गर्न सकिने सन्देशसमेत दिएका छन्।
श्रमदाता इन्द्र एवोईका अनुसार दमक–कमल जोड्ने रतुवा किनारको उक्त मार्गलाई भविष्यमा रविमार्गसँग जोडेर रिङरोडका रूपमा विकास गर्ने योजनासमेत रहेको छ। नदी किनारलाई बिहान–बेलुका स्थानीयवासीले स्वच्छ हावा लिन, घुमफिर गर्न र मनोरञ्जन गर्न सक्ने स्थानका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। त्यसका लागि अहिलेबाटै सरसफाइ र वातावरण संरक्षणमा ध्यान दिन आवश्यक रहेको उनले बताए।
एवोईका अनुसार श्रम संस्कृति पार्टीको नगर समितिले तोकेका स्थानमा हरेक साता श्रमदान हुँदै आएको छ। यस क्रममा शनिबार नै शिलान्यास गरिएको दमक–७ को संरक्षण टोलस्थित किरियापुत्री भवन आसपासको क्षेत्रमा समेत श्रमदाताहरूले सरसफाइ गरेका थिए। सामाजिक आवश्यकता र सार्वजनिक हितसँग जोडिएका काममा प्रत्यक्ष श्रममार्फत योगदान गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए।
श्रमदाता मिङमा राई सोतिहाङका लागि श्रमदान केवल सरसफाइ गर्ने काम मात्र होइन, मानिसको मनबाट निस्कने सेवाभाव हो। समाजका लागि आफ्नो समय, श्रम र सीप स्वेच्छाले समर्पण गर्नु नै श्रमदानको मूल भावना भएको उनको भनाइ छ।
श्रमदान अभियान कहिलेसम्म चल्छ भन्ने प्रश्नमा उनले ठट्यौली शैलीमा भनिन्, “श्रमदान चलाउँदा जहिले जल्ने, नचलाउँदा नचल्ने।” उनको भनाइले अभियानलाई औपचारिक कार्यक्रमभन्दा निरन्तर सामाजिक अभ्यासका रूपमा अघि बढाउने प्रतिबद्धता झल्काउँछ।
यसरी ६१ हप्तासम्म निरन्तर गरिएको श्रमदानले सार्वजनिक स्थलको सरसफाइसँगै नागरिकमा स्वयंसेवा, सामूहिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने प्रयासलाई समेत बल दिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया