संसदीय अभिव्यक्तिमा रास्वपाको ‘ब्रेक’, पहिले दलले हेर्ने स्पिच

दयाराम कटेल

काठमाडौं । आफ्नै सांसदहरूले संसदमा सरकारको कार्यसम्पादनमाथि लगातार प्रश्न उठाउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदका अभिव्यक्ति, भाषा र प्रस्तुतिमाथि निगरानी कडा बनाएको छ । अब रास्वपाका सांसदले प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्नुअघि आफ्नो ‘स्पिच नोट’ अनिवार्य रूपमा संसदीय दलका पदाधिकारीलाई बुझाउनुपर्ने भएको छ ।
संसदीय दलले जारी गरेको आन्तरिक सर्कुलरमा सांसदहरूलाई संसदमा प्रस्तुत गर्ने सामग्री एक दिनअघि नै प्रमुख सचेतक क्रान्तिशिखा धिताल र सचेतक प्रकाशचन्द्र परियारलाई पठाउन निर्देशन दिइएको छ । पार्टीले यसलाई सांसदको प्रस्तुति प्रभावकारी, छरितो र विषयकेन्द्रित बनाउन गरिएको व्यवस्थापन भनेको छ । तर पछिल्ला दिनमा आफ्नै सांसदहरूले सरकारका कमजोरीमाथि खुलेर प्रश्न उठाइरहेका बेला आएको यो निर्णयलाई राजनीतिक वृत्तमा ‘स्पिच कन्ट्रोल’ र ‘ड्यामेज कन्ट्रोल’का रूपमा हेरिएको छ ।
प्रमुख सचेतक धितालले सांसदलाई नियन्त्रण गर्ने उद्देश्य नभएको दाबी गर्दै विशेष र शून्य समयमा समय व्यवस्थापन र विषयवस्तुको प्रभावकारिताका लागि यस्तो व्यवस्था गरिएको बताइन् । उनका अनुसार कतिपय सांसदले तोकिएको समयभित्र विषयवस्तु समेट्न नसकेको र प्रस्तुति बिखण्डित हुने गरेको निष्कर्षपछि यस्तो निर्णय गरिएको हो ।
रास्वपाले निगरानी बढाउने निर्णय गरेको दिनहरूमा भने पार्टीकै सांसदहरूले संसदमा सरकारको कार्यशैलीमाथि कडा टिप्पणी गरेका थिए ।
सांसद निशा डाँगीले पूर्व–पश्चिम विद्युतीय रेलमार्गका नाममा पाँच वर्षदेखि रोक्का गरिएका निजी जग्गाको विषय उठाउँदै सरकारले न आयोजना अघि बढाएको, न मुआब्जा दिएको र न जग्गा फुकुवा गरेको भन्दै सरकारको आलोचना गरिन् । विकास आयोजनाको नाममा सयौं किसान आफ्नो सम्पत्तिको प्रयोग गर्न नपाएको उनको भनाइ थियो ।
सांसद प्रकाश पाठकले झापाको बिर्तामोडस्थित अनारमनी ग्रिडमा आएको खराबीका कारण झापा र आसपासका क्षेत्रमा बारम्बार विद्युत् अवरोध भएको विषय उठाउँदै ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादनमाथि प्रश्न गरे । अत्यधिक गर्मीका बेला नागरिक अन्धकारमा बस्न बाध्य भएको उल्लेख गर्दै उनले स्थायी समाधानको माग गरे ।
सांसद यज्ञमणि न्यौपानेले मोरङका ग्रामीण क्षेत्रमा अझै नियमित विद्युत् र सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै सरकारको विकास नीति शहरी केन्द्रित भएको आरोप लगाए । “सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, तर मोरङमा झुक्किएर मात्र बत्ती आउँछ,” भन्ने उनको टिप्पणी संसदमा निकै चर्चित बन्यो ।
सांसद सृष्टि भट्टराईले राष्ट्रिय राजमार्गमा पार्किङ शुल्कको नाममा भइरहेको अवैध असुलीलाई ‘लुटतन्त्र’को संज्ञा दिँदै सरकारले कानुनविपरीत भइरहेको रकम असुली तत्काल रोक्न माग गरिन् । स्थानीय सरकार सञ्चालन ऐनले अधिकार नै नदिएको अवस्थामा ढाट राखेर शुल्क उठाउने कार्य कसरी भइरहेको भन्दै उनले सरकारसँग जवाफ मागिन् ।
सांसद नरेन्द्रकुमार गुप्ताले वीरगञ्जमा सडक विस्तारका क्रममा उचित क्षतिपूर्ति र पुनःस्थापनाविना नागरिक विस्थापित भइरहेको विषय उठाउँदै विकासका नाममा नागरिकमाथि अन्याय हुन नहुने बताए ।
यस्तै, झापाको बाहुण्डाँगीमा दशकौँदेखि दोहोरिँदै आएको जंगली हात्ती आतंक, सीमा व्यवस्थापन, किसानको क्षति र दीर्घकालीन समाधानको विषय पनि रास्वपा सांसदहरूले संसदमा जोडदार रूपमा उठाएका थिए ।
पार्टीकै सांसदहरूले सरकारको कार्यसम्पादन, सार्वजनिक सेवा, पूर्वाधार, विद्युत्, खानेपानी, किसानको समस्या र प्रशासनिक कमजोरीबारे लगातार आवाज उठाइरहेका बेला रास्वपाले उनीहरूको अभिव्यक्तिमाथि पूर्वनिगरानी गर्ने निर्णय गरेको हो । यसले संसदीय स्वतन्त्रता, दलगत अनुशासन र सत्तारुढ दलभित्रको आन्तरिक सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार सत्तामा पुगेपछि सरकारको बचाउ र जनताका मुद्दाबीच सन्तुलन कायम राख्नु रास्वपाका लागि चुनौती बनेको छ । सांसदका अभिव्यक्तिलाई व्यवस्थित बनाउने नाममा लागू गरिएको नयाँ व्यवस्था दलगत अनुशासनको अभ्यास हो वा आलोचनात्मक आवाजमाथिको नियन्त्रण, यसको परीक्षण अब संसदको आगामी बैठकहरूमा हुने देखिन्छ ।
बक्स
कोशी प्रदेशसभामा विद्युतदेखि शान्ति सुरक्षासम्मका मुद्दा
विराटनगर । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले विद्युत आपूर्ति, किसानका समस्या, स्वास्थ्य बिमा, खानेपानी, शान्ति सुरक्षा र पूर्वाधार विकासलगायत जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै उनीहरूले नागरिकका आधारभूत समस्या समाधानमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन् ।
सांसद गणेशप्रसाद उप्रेतीले पुनः लोडसेडिङको समस्या देखिन थालेको भन्दै यसले विशेषगरी तराईका किसानलाई सिँचाइमा समस्या परेको बताए । भूमिगत सिँचाइ विद्युतमा निर्भर भएकाले ट्रान्सफर्मर जडान र विद्युत विस्तारका लागि तत्काल पहल गर्न उनले सरकारसँग माग गरे ।
सांसद बन्दना झाँगडले स्वास्थ्य बिमामा आबद्ध नागरिकले समेत उपचार र औषधि सहज रूपमा पाउन नसकेको गुनासो गर्दै स्वास्थ्य बिमा कार्यक्रमप्रतिको विश्वास जोगाउन गुणस्तरीय सेवा सुनिश्चित गर्न आग्रह गरिन् ।
सांसद गितादेवी रेग्मीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदहमा २०७३ सालदेखि निर्माणाधीन खानेपानी आयोजना अझै सम्पन्न हुन नसकेको उल्लेख गर्दै करोडौं रुपैयाँ खर्च भइसके पनि आयोजना सञ्चालनमा नआउनु दुःखद भएको बताइन् ।
सांसद मिना श्रेष्ठले सुनसरीको इटहरीसहित विभिन्न क्षेत्रमा चोरीका घटना बढ्दै गएको भन्दै प्रहरी गस्ती प्रभावकारी बनाउन र स्थानीय तहसँग समन्वय गरी सीसीटीभी जडान विस्तार गर्न माग गरिन् ।
सांसद बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु सडक र माप्य दुधकोशी पुल निर्माणमा ढिलाइ भएको भन्दै पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सरकारले विभेद गर्न नहुने धारणा राखे ।
बैठकमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा सरकारले शीघ्र पहल गर्दै नागरिकका समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।


दयाराम कटेल
प्रतिक्रिया