मनसुनको पहिलो चरणमै पूर्वी नेपालमा ठूलो क्षति, सडक अवरुद्ध र बाढी–पहिरोको जोखिम बढ्दो
खगेन्द्र कार्की
२४ असार २०८३, बुधबार १०:०९ मा प्रकाशित
673
इटहरी। मनसुन सक्रिय भएसँगै पूर्वी नेपालका पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढीले जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। इलाम, पाँचथर, संखुवासभा, भोजपुर र झापालगायत जिल्लामा सडक अवरुद्ध, बस्ती जोखिममा, यातायात सेवा प्रभावित तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या देखिएको छ। गृह मन्त्रालय र सुरक्षा निकायका अनुसार मनसुनको सुरुवाती चरणमै मानवीय तथा भौतिक क्षति उल्लेखनीय रहेको छ।
इलाममा लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा दर्जनौं परिवार विस्थापित भएका छन् भने खेतीयोग्य जमिन र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। मेची राजमार्गका ८० भन्दा बढी स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। विशेषगरी राजदुवाली, बिब्ल्याँटे, पुवाखोला, राँके र नेपालटार क्षेत्रमा सडक अवरुद्ध भएपछि सुरक्षा निकाय र सडक विभागको प्रयासबाट केही खण्डमा मात्र एकतर्फी सञ्चालन सम्भव भएको छ।
मेची राजमार्ग अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङमा इन्धन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको दोभान क्षेत्रमा बाढीले सडक बगाएपछि यातायात ठप्प बनेको थियो। फेमे खोलामा अस्थायी काठे पुल निर्माण गरेर आवागमन पुनः सञ्चालन गरिएको भए पनि आपूर्ति प्रणाली अझै सहज हुन सकेको छैन। फिदिममा इन्धन अभाव देखिनुका साथै उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ।
तराईका झापा, मोरङ र सुनसरीमा नदीको जलसतह बढेसँगै बाढीको जोखिम उच्च बनेको छ। कन्काई, बिरिङ, मावा र रतुवा नदी आसपासका बस्तीमा पानी पस्ने खतरा बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीमा फसेका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। जल तथा मौसम विज्ञान महाशाखाले पूर्वी तराईका १२ जिल्लालाई ‘रेड जोन’मा राख्दै भारी वर्षा र डुबानको सम्भावना औँल्याएको छ।
संखुवासभाको भोटखोला गाउँपालिकामा पहिरोले सडक पुरिएपछि सदरमुकामसँगको सम्पर्क टुटेको छ भने भोजपुरको बोखिम क्षेत्रमा बाढी–पहिरोले सडक बगाउँदा यातायात लामो समय प्रभावित रह्यो। हाल केही स्थानमा एकतर्फी सवारी सञ्चालन भए पनि जोखिम कायमै छ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरबाट तराई झर्ने यात्रुहरू तेह्रथुम, धनकुटा हुँदै १०–१२ घण्टासम्मको वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। मनसुन अझै सक्रिय रहने पूर्वानुमानसँगै प्रशासनले नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।