दमकमा हजारौं जनताको उपस्थितिमा जेनजी आन्दोलनका सहिद र घाइते परिवार समेटिएको राष्ट्रिय परिवर्तन पार्टीले आफ्नो औपचारिक घोषणा कार्यक्रम सम्पन्न गरेको छ । झापाको कमलस्थित आदिवासी रंगशालामा सम्पन्न घोषणासभाले देशको राजनीतिक वृत्तमा नयाँ विकल्पको संकेत दिएको छ ।
घोषणासभामा सहिद परिवार, घाइते तथा जनताबीच नयाँ आशा र ऊर्जा प्रकट भएको देखियो । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७५ बढीको हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सहिदका तर्फबाट वार्ता टोली संयोजक गणेश चौलागाईले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायसम्मका जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याउन जोड दिए ।
जेनजी आन्दोलनलाई ओझेलमा पार्ने र पुनः पुरानै सत्ता सिण्डिकेटलाई जोगाउने प्रवृत्तिको कडा विरोध गर्दै “अब राजनीतिक रूपमै ठूला दललाई बढार्ने समय आएको” घोषणा सो सभामा गरिएको थियो ।
वास्तवमै कांग्रेस, एमाले र माओवादीले पालैपालो सत्ता कब्जा गर्ने परिपाटीको अन्त्य आवश्यक रहेको छ । ‘भदौको रक्तपात र आमाबाबुको आँसुबाट जन्मिएको पार्टी’को रूपमा राष्ट्रिय परिवर्तनलाई परिचित गराए । राजनीतिक विसंगति अन्त्यका लागि देशभरका सचेत नागरिक एकै मञ्चमा आउने समय आएको छ ।
कार्यक्रममा सहिद परिवार र घाइतेलाई सम्मानपत्र प्रदान गर्दै पार्टीले आफ्नो घोषणापत्र पनि सार्वजनिक ग¥यो। सातवटा राजनीतिक मुद्दा र आर्थिक विकासका चार पिलरलाई उनीहरु प्रमुखताका साथ उठाएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, शून्य सहनशीलता, सुशासन, इमान्दार राजनीतिक संस्कारसहित कृषि, पर्यटन, खनिज र जलविद्युत विकासलाई समृद्धिको प्रस्थान विन्दु मानेका छन् ।
जेनजी जुन–जुन समूहमा रहेपनि राजनीतिक रुपमा पुराना सत्ताका विकृति र अबको रणनीतिका विषयमा देशभर बुझाउँदै, सुनाउँदै चुनावी अभियानमा लागिसकेको सन्दर्भमा यता ठूला दल भने उनीहरुलाई जसरी पनि विस्थापित गर्ने रणनीतिमा देखिन्छन । यतिखेर साना, ठूला दलहरु महाधिवेशनमा केन्द्रीय भईरहँदा जेनजी आन्दोलनको पुस्तान्तरण र पुनर्सरचनाको विषयलाई आत्मसात गर्न सकेका देखिँदैन । उहि घमण्ड, उहि अहंकारका साथ उनीहरु जेनजी आन्दोलनका विरुद्धमा बोलिरहेका र व्यवहार गरिरहेका देखिन्छन् । एमालेको एघारौं महाधिवेशनले जेनजी आन्दोलनलाई अझै पनि “आततायी”को संज्ञा दिइरहेको छ। आन्दोलनका कारण, उद्देश्य र जनआक्रोशबारे आत्मसमीक्षा गर्ने सट्टा, सत्ता पुनः प्राप्तिको मोहमा पुराना दलहरू अड्किएका देखिन्छन् ।
आज देशको राजनीतिक दिशामा नयाँ शक्ति उदाउँदै छ । उनीहरुका मुद्दा र उनीहरुको विचारको सम्मान गरेर गए मात्र अबको राजनीतिक स्थायित्व सम्भव देखिन्छ नत्र भोलिका दिनमा ठूला दलहरुले निकै सास्ती व्यहोर्न नपर्ला भन्न सकिन्न । राजनीतिमा नयाँ शक्तिको उभार केवल दलको घोषणा होइन, वर्षौंदेखि मौन जनताको आवाजको पुनर्जन्म पनि हो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो