प्रतिशोधका विरुद्धमा लामिछानेको पक्षमा आवज जुट्दै, सरकारले आतंक मच्चाएको प्रचण्डको आरोप

खगेन्द्र कार्की

दमक । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले प्रधानमन्त्री बनिदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रस्ताव गरेको दाबी गरेका छन् । चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कांग्रेस एमालेले आफैँले प्रधानमन्त्री बनिदिन आग्रह गरेको व्यक्तिलाई अहिले दुव्र्यवहार गरेको आरोप लगाए ।

सहकारी ठगी प्रकरणमा मुछिएर अनुसन्धानका लागि थुनामा रहेका लामिछानेमाथि सरकारले अतांकित पार्ने काम गरेको दाहालको भनाइ छ । त्यसको मूल्य दुई दललाई चर्को पर्ने उनको चेतावीन थियो । दाहालले भने, ‘उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

दाहालले प्रधानमन्त्रीको प्रस्ताव गरेको आफँैले देखेको दाबी गरे। दाहालले भने, ‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु। नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो ।’

हिरासतमा अभद्र व्यवहार गलत हल्ला मात्र ः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले रवि लामिछानेमाथि भएका अन्यायपूर्ण र मानवअधिकार विरोधी गतिविधिको ढाकछोपमा उत्रिएका छन् । उनले रविको विषयमा न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको दावी गर्दै अभद्र व्यवहार भएको भन्ने हल्ला गलत रहेको बताएका छन् । मन्त्री लेखकले मंगलबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए ।

उनले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको बताए । ‘सहकारी रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्,’ उनले भने, ‘अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको छ ।’

तीन दिनभित्र रविको केस अदालतमा पेश गर्न सांसद शर्माको माग

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले लामिछानेविरुद्ध सरकारले गरेको अमानवीय व्यवहार लोकतन्त्र विपरीत भएको भन्दै भर्त्सना समेत गरे ।

शर्मा लामिछानेको पक्षमा उभिँदै सरकारको कदमले मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूलाई चुनौती दिएको आरोप लगाए । उनले ८–१० दिनमा अदालतमा बुझाउनुपर्ने मुद्दामा मानसिक तनाव दिनकै लागि लामिछानेलाई विभिन्न ठाउँमा घुमाएको जिकिर गरे ।

उनले भने, “ सरकारको यो रवैया न त कानुनी मान्यतासँग मेल खान्छ, न त मानवीय व्यवहारसँग । लोकतन्त्रमा प्रत्येक नागरिकलाई सम्मानपूर्वक व्यवहार गरिनुपर्छ । तर, रविजीमाथि हिरासतमा अमानवीय व्यवहार भएको छ ।”

उनले तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न प्रधानमन्त्री, गृहमन्त्रीसँग आग्रह गरे । सांसद शर्माले गृहमन्त्री लेखकलाई प्रश्न गर्दै भने, ‘हिजो हामी सरकारमा थिएनौँ, अहिलेको गृहमन्त्री हाम्रो प्रमुख सचेतक पनि हुनुहुन्थ्यो। उहाँले हामी सबैलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो । ह्वीप जारी गर्नुभयो । अनि हामीले नाराजुलुस ग¥यौँ, जीवी राई खोइ ? किन पक्राउ गर्दैन ? भनेर । अनि आफू गृहमन्त्री भएपछि पक्राउ गर्नुपर्ने दायित्व उहाँको हो कि होइन ? किन पक्राउ नगरेको ?’ कांग्रेस सरकारमा नरहेका बेला सदनमा बोलाएर जीवी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाउने व्यक्ति आफैँ गृहमन्त्री हुँदा पनि जीवी राईलाई पक्राउ गर्न नसकेको जिकिर गरे । लामिछानेमाथि हाल भइरहेको कानुनी प्रक्रियालाई लिएर समर्थकहरूले सरकारमाथि राजनीति प्रेरित हुने आरोप लगाइरहेको बेलामा सत्तारुढ दलकै नेता पहिलो पटक सरकारकै विपक्षमा उत्रिएका हुन् ।

यी बाहेकका नेता तथा प्रबुद्ध व्यक्तित्वहरुले समेत रविको समर्थनमा आवज उठाउन थालेका छन् । प्रचण्ड, नारायणकाजी श्रेष्ठ, डा बाबुराम भट्टराई, डा शेखर कोईराला, डा प्रकाशचन्द्र लोहनी, जनार्दन शर्मा, सुनिल शर्मा, ज्ञानेन्द्र शाही, अर्जुननरसिंह केसी, डा अमरेशकुमार सिंह, पत्रकार विजय कुमार पाण्डे, बरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्य, प्रकाश बिकल्प, भीम उपाध्याय, गान्धी पन्डित, रन्जन खनाल, डा. सुरेन्द्र केसी, हेमन्त सेडाई, पुर्ब आइजिपी सर्बेन्द्र खनाल, बबिता बस्नेत, रमा सिंह, श्यामबाबु गौतम लगायत अभियन्ताहरु, सञ्चारकर्मी, युट्युवरहरुको समेत साथ र समर्थन बढ्दै गएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया