सुनसरी, मोरङ र झापाका उद्यमीहरु सौर्य ऊर्जाप्रति आकर्षित बन्दै

खगेन्द्र कार्की

इटहरी । नेपाल विद्युत् प्राधिकरणले ३ हजार ४९३ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादन गर्नका लागि निजी क्षेत्रले गरेको प्राविधिक प्रस्ताव पारित गरेको छ । 

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका २ सय ६३ स्थानको छनौट गर्दै उक्त आयोजनाहरूको प्राविधिक प्रस्ताव पारित गरेको हो ।

प्राधिकरणले निजी क्षेत्रको प्रस्ताव पारित गरेसँगै झापाका उद्यमी व्यवसायीहरु पनि सौर्य ऊर्जा उत्पादनमा आकर्षित बनेका छन् । झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ । जसमा टाइम सोलर इनर्जीले १० मेगावाटका दुईवटा, मेची रिन्यू इनर्जी प्रा.लि.ले १० मेगावाट सोलर विद्युत् निकाल्ने लिष्टमा छन् ।

प्राधिकरणले देशभरबाट ८५० मेगावाट क्षमता बराबरको सौर्य विद्युत् उत्पादन गर्नका लागि प्राविधिक र वित्तीय प्रस्ताव आव्हान गरेको थियो । सो अनुसार परेका प्रस्तावमध्ये १२७ सौर्य ऊर्जा उत्पादक कम्पनीहरू प्राविधिक रूपमा छनौटमा परेका हुन् ।

यही अक्टोबर २२ अर्थात् कार्तिक ६ गते वित्तीय प्रस्तावका आधारमा कम्पनीको अन्तिम टुङ्गो लगाइने विद्युत् प्राधिकरणले जनाएको छ । त्यसबाट देशभरका ८५० मेगावाटको प्रस्ताव स्वीकृत गर्ने प्राधिकरणको तयारी छ । त्यसपछि परियोजना निर्माणस्थलमा विस्तृत वातावरणीय परीक्षण (आइइइ) गर्न ६ महिना लाग्ने र त्यो रिपोर्ट स्वीकृत भएको १८ महिनामा आयोजना निर्माण सम्पन्न हुने लगानीकर्ता बताउँछन् ।

सौर्य ऊर्जामा लगानी गर्दा प्रति मेगावाट ६ देखि ७ करोड लगानी आवश्यक पर्ने र जसमध्ये ६० देखि ७० प्रतिशत लगानी सोलर प्यानल खरिदमा खर्च हुने जनाइएको छ । विद्युत् प्राधिकरणले प्रति युनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् विक्री गर्ने उत्पादकलाई मात्रै अनुमति दिने प्रस्ताव गरेको छ ।

यसैबिच वस्तु उत्पादनमा लगानी गरिरहेका विराटनगरका केही परिचित औद्योगिक घरानाहरु पनि सौर्य ऊर्जा उत्पादनमा लाग्ने देखिएको छ । सारडा ग्रुपका पवनकुमार सारडा, गोल्छा अर्गनाइजेसनको अरिहन्त समूहका राजकुमार गोल्छा र आनन्द इँटा उद्योगका सञ्चालक दिलीप बगडियाले पनि प्राधिकरण समक्ष प्रस्ताव पेश गरेको खुलेको हो ।

मोरङमा १३१ मेगावाट क्षमताको ऊर्जा उत्पादनको लागि १० वटा कम्पनी छनौटमा परेका छन् । जसमध्ये श्रीयंशी ऊर्जा प्रा।लि।ले विराटचौकमा १० मेगावाट, हिमालयन सोलर भेन्चर प्रा।लि।ले पनि विराटचोकमै ५ मेगावाट, रंगेलीमा १० मेगावाट र पशुपति इनर्जी प्रा।लि।ले केराउनमा २० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

गोल्छा अर्गनाइजेसनले अरिहन्त ग्रिन इनर्जी प्रा।लि।मार्फत सुनसरीको बर्जु गाउँपालिकामा २५ मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रस्ताव गरेको छ । यस्तै आनन्द इँटा उद्योगका सञ्चालक तथा रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले आनन्द सोलर प्रा।लि।को नाममा सुनसरीको बर्जुमा २५, मोरङको कटहरी र रंगेलीमा १०–१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । उनको प्राविधिक प्रस्ताव पारित भइसकेको छ । यस्तै उदयपुरमा सुनलाइट इनर्जीले जलजलेमा १० मेगावाट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तेह्रथुममा २० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आनन्द पावर नेपाल प्रा.लि.ले केराउन मै १०, घटाल एण्ड कौशिक जेभीले रंगलीमा १० मेगावाट, आनन्द सोलर प्रा।लि।ले कटहरी र रंगेलीमा गरेर थप २० मेगावाट, रिदी पावर कम्पनी लि।ले उर्लाबारीमा १० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै सङ्खुवासभामा विभिन्न ८ वटा कम्पनीले ९० मेगावाट सोलर ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । यस्तै सुनसरीमा ११ वटा कम्पनीले २७० मेगावाट, सोलुखुम्बुमा १० मेगावाट र तेह्रथुममा २० मेगावाट विद्युत् उत्पादनको प्रस्ताव गरिएको छ । कोशी प्रदेशमा जम्मा ५३ कम्पनीले ६७६ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका हुन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया