झापामा हात्ती आतंक रोकिएन, स्थानीयबासीमा न भोक, न निन्द्रा

खगेन्द्र कार्की

दमक/ भारतीय खुल्ला सिमानाका कारणले भोका हात्तीहरु नेपाल प्रवेश गरेर गाउँ गाउँमा पसेर उदण्डता मच्चाईरहेका छन् । सोही क्रममा झापाका विभिन्न गाउँका स्थानीयबासीमा न भोक न निन्द्रा भएको छ ।

झापामा रैथाने जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीयबासी त्रासमा बाच्न बाध्य भएका हुन् । रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले दिनहुँ स्थानीयको घरगोठ भत्काउनुका साथै अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । 

झापा र मोरङका विभिन्न ठाउँमा विभिन्न चरणमा आएका हात्तीले आतंक मच्चाउने क्रम अझै रोकिएको छैन । हात्ती नियन्त्रणका लागि विभिन्न प्रयास भएपनि प्रभावकारी बन्न सकेका छैनन । दिनप्रतिदिन जंगली हात्तीको बदमासीले स्थानीबासीलाई त्रसित बनाएको छ । पटक पटक आउँदै गरेको हात्रीले पु¥याएको मानविय क्षतिसँगै भौतिक क्षति धेरै भईसकेको छ । केही हप्ता पहिला हात्री आतंकबाट ३ जनाको मृत्यु भएको थियो । राती राती आउने हात्तीले धेरै क्षति पु¥याईसकेको छ ।

पछिल्लो दुईसातायता जिल्लाको बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ र ३ क्षेत्रमा रातको समयमा जंगली हात्ती गाउँ पस्न थालेपछि अहिले गाउँले त्रसित बनेर निदाउन सकेका छैनन् ।

चर्चाबारी, गोपालडाँडा, आँपचोक, महानन्द टोल, प्रगति टोल, सातनम्बर, जयपुर, ट्रान्समिटर, गलान गाउँ लगायतका क्षेत्रमा दैनिक रातको समयमा जंगली हात्ती प्रवेश गरेर खेतीबाली नोक्सान गर्ने, घरगोठमा क्षति पु¥याउने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको बुद्धशान्ति २ का स्थानीय प्रकाशकुमार महतले बताएका छन् । हात्तीले उनको घरमा समेत केही दिन अघि क्षति पु¥याएको थियो ।

हात्तीको बथान जंगलमा लुकेर बस्ने गरेको र रातको समयमा निस्किने नजिकैको आदर्श नमूना, मागुरमाढी, कालिका, नवज्योती लगायतका सामुदायिक वनहरुबाट हात्ती गाउँ प्रवेश गर्ने गरेको आदर्श नमूना सामुदायिक वनका अध्यक्ष खगेन्द्र आचार्यले बताएका छन् । उनले स्थानीयले सामान्य साइरन बजाउनबाहेक हात्ती खेदाउन अन्य उपाय नहरेकोले सम्बन्धित निकायले यसको दीर्घकालिन समाधानका लागि उपाय खोज्नु जरुरी रहेको बताएका छन् ।

जंगली हात्तीले बुद्धशान्ति मात्रै नभएर झापाका विभिन्न क्षेत्रहरुमा आतंक नै मच्चाइरहेका छन् । जिल्लाको मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, दमक, भद्रपुर, कमल, कन्काई, हल्दिबारी लगायतका पालिकाहरुमा पनि दिनँहु स्थानीयलाई त्रसित बनाइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताएका छन् । उनले खासगरी जंगलसँग जोडिएका पालिकाका बस्तीहरूमा हात्ती प्रवेश गर्ने गरेको बताएका छन् । उनले झापाका विभिन्न जंगलमा करिब तीसभन्दा बढी रैथाने हात्ती रहेको उनले बताए । यस वर्ष गत वर्षको जस्तो भारतबाट हात्तीको हन्जा (हुल) नेपाल प्रवेश नगरेकाले बस्ती बस्ने हात्ती झापाकै जंगलमा बसोबास गर्ने मात्र रहेको राइको भनाई छ । ‘जंगलमा घाँसपात हुँदा जंगलमै चर्छन् । बालीनाली फल्ने बेलामा खेतबारीमा जान्छन् । यो सुक्खा सिजनमा गाउँघरमा जाने अन्नबाली खाने, घरग्वाली भत्काउने जस्ता गतिविधि गर्छन्,’ प्रमुख राईले भने, ‘यसपटक बाहिरबाट आएका हात्ती छैनन् । यसका गतिविधि हेर्दा तीसवटा मात्र हात्ती छन् । गत वर्षभन्दा यस वर्ष बढेका छैनन् ।’ यस वर्ष झापामा हात्तीले गत वर्षभन्दा कम क्षति गरेको उनले बताए । यद्यपि, स्थानीय तहको सिफारिसमा राहत माग्न दैनिकजसो डिभिजन वनमा पीडितहरू आउने गरेको भने नरोकिएको प्रमुख राईले बताए ।

झापामा गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ९ जनाको मृत्यु भएको थियो । यो वर्ष वितेको पाँच महिनामा तीनजनाको ज्यान गएको छ । हात्तीलाई बस्ती पस्न नदिन डिभिजन वन कार्यालय झापाले वनमा हात्तीलाई मनपर्ने बाँसल गायतका खानेकुरा रोप्ने काम गरिरहेको कार्यालयले जनाएको छ । हात्ती जंगलमै खेलोस् भनेर केही वनमा पोखरी पनि बनाएको बताइएको छ । बाँस, केरा, इलिफेन्ट एप्पल लगायतका खानेकुरा पनि रोपेका छौँ,’ प्रमुख राईले भने, ‘मन्त्रालयमार्फत मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि कार्ययोजना बनाउने काम भइरहेको छ ।’ डिभिजन वन कार्यालयका अनुसार करिब १३ वर्षमा झापामा हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै रेकर्डअनुसार दुई दशकमा २१ हात्ती मारिएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया