कोशीका मन्त्री अधिकारी मानव तस्करमा संलग्नताको आरोप लागेपछि राजीनामा, जापानले डिपोर्ट गरी फर्काएको खुलासा

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर/ जापानमा हुने कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई बोलाएर मानव तस्करी गरिएको खुलेको छ । यसमा संलग्न ७ जना पक्राउ परेका छन् ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई जापानमा हुने सांस्कृतिक कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएको थियो । उनीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोज्ने सातजना पक्राउ परेका हुन् । जापान जान खोज्नेमा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना छन् ।

मन्त्री अधिकारीले आफूलाई थाहै नदिई अन्य तीन जनालाई सचिवालय कर्मचारी बनाएर जापान लैजान खोजिएको दावी गरे । उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत रहेको उनले बताए ।

आफूसँगै अन्य नचिनेका तीन जनालाई सचिवालयका सदस्य बनाएर जापान लैजान खोजेको थाहा पाएपछि आफू एयरपोर्टबाटै फर्किएको अधिकारीको भनाइ छ ।

उनले भने, ‘मानव तस्करहरूले मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि म फर्किएँ । म नेपाल आएपछि उनीहरू पनि जापान जान पाएनन् ।’

अधिकारीका अनुसार नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई ह.ककङ्ग ट्रान्जिटबाट जापान उडाउन खोजेका थिए । हंककङ्ग एयरपोर्टमा पुगेपछि आफूले सबै कुरा थाहा पाएको उनले बताए । घटनाका विषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि पुष्टि गरेको छ । मन्त्री अधिकारीले भने, ‘मैले हङ्कङ पुगेपछि मानव तस्करहरूको धन्दा थाहा पाए । उनीहरूले सचिवालयका नक्कली सदस्य बनाएर परिचयपत्र समेत बनाइ दिएका रहेछन् । ‘मप्रति भएका नकारात्मक टिका टिप्पणीलाई अध्ययन अनुसन्धान र छानबिन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरूले जनताकै बिचमा पनि जाँदा आफूलाई लागेको आक्षेपमा नैतिक रूपले बसिरहन उचित हुँदैन भन्ने ठानिकन मैले राजीनामा दिएको छु,’ उनले थपे । 

घटनाका संलग्न गिरोह पक्राउ परेपछि अधिकारीले बुधबार राजीनामा दिएका छन् । प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारी समेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किएका थिए । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर सिआईबीले अनुसन्धान गरिरहेको छ । अधिकारीले अक्टोबर २९ तारिकदेखि नोभेम्बर ३ तारिकसम्म टोकियो महानगरपालिकाको कार्यक्रम रहेको दाबी गरे । सोही कार्यक्रममा उनी गएका हुन् ।

जापानले मन्त्री अधिकारीलाई डिपोर्ट गरी फर्काएको खुलासा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसहित उनको सचिवालय सदस्य भएको नक्कली कागजात बनाएर जापान गएकालाई जापानले नै डिपोर्ट गरेको खुलेको छ ।

अधिकारीसँगै जापान उडेका खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको हो ।

अधिकारीले आफूसँगै तीन जना नक्कली कागजात बनाएर जापान जान लागेको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई उनीहरुलाई पनि लिएर जापानको विमानस्थलबाट नेपाल फर्किएको दावी गरेका थिए । तर, उनी आफैं नेपाल फर्किएको नभई जापानको अध्यागमनले नक्कली कागजातको आधारमा जापान जान लागेको खुलेपछि विमानस्थलबाटै डिपोर्ट गरेको पाइएको छ ।

कार्तिक १३ गते जापान उडेका अधिकारीसहित अन्य तीन जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको हो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि तीन जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया