कोशी प्रदेशको सबैभन्दा ठूलो प्रतियोगिता विराट गोल्डकपको ८ औं संस्करण अधिवेशनपछि गर्ने तयारी

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । कोशी प्रदेशको चर्चित र ठुलो पुरस्कार राशी राखिएको प्रतियोगिता विराट गोल्डकपको ८ औं संस्करणको तयारी सुरु भएको छ ।

विराट गोल्डकप ट्रष्टको आगामी माघ १५ गते अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको तयारी अगाडि बढ्ने भएको हो ।

विराट गोल्डकपको सातौं संस्करणसँगै ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले वरिष्ठ उपाध्यक्ष किशोर शाहीलाई कार्यवहाक तोकेका थिए । अब विधिवत रुपमा ट्रष्टको अधिवेशनबाट नेतृत्वको चयन हुनेछ ।

उपाध्यक्ष शाहीका अनुसार आगामी माघ १५ गतेको अधिवेशले फागुनको दोस्रो सातासम्म गोल्डकपको तयारी थाल्नेगरि मिति तय गर्ने जानकारी दिएका हुन् । २०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट विराटनगरमा फुटबल प्रतियोगिता हुँदै आएको थियो ।

गणतन्त्र स्थापनासँगै २०६७ सालमा यसको नामसहित विधान मस्यौदा गरिएको थियो । त्यसपछि २०६७ सालदेखि विराट गोल्डकप ट्रष्टको नाममा प्रतियोगिता सुरु हुन थालेको थियो । गत सिजनको सातौं संस्करणको नेतृत्व विराटनगर महानगरपालिकाले लिएको थियो ।

महेन्द्र गोल्डकपको रुपान्तरण विराट गोल्डकपमा रुपान्तरण भएपछि २०६७ सालमा पहिलोपटक भीम कुँवरलाई अध्यक्ष बनाएर गोल्डकपको नेतृत्व दिइएको थियो । उनले दुई कार्यकाल गोल्डकप अघि बढाएपछि शिवभक्त जोशी र हाल सन्तोष बानियाँलाई आपसी सहमतिमा जिम्मेवारीमा छन् ।

ट्रष्टको नेतृत्वले विराट गोल्डकपका लागि संयोजन गर्ने जिम्मेवारी हालसम्म अरुलाई दिँदै आएको छ । आगामी माघ १५ गते हुने अधिवेशनले निर्वाचित गर्ने नयाँ नेतृत्वले काम अगाडि बढाउनेछ ।

प्रतियोगिता जितेसँगै गत संस्करमा आयोजक विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएको थियो । यस्तै उपविजेता लुका सकरले १० लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया