खोटाङको हलेसीमा हवनकुण्डको उद्घाटन, ५ करोडको लागतमा आयल निगम र अतिथिगृह बन्दै

खगेन्द्र कार्की

खोटाङ । त्रिधार्मिकस्थल खोटाङको हलेसीमा नवनिर्मित हवन कुण्डको निवर्तमान केदार कार्कीले उद्घाटन गरेका छन् । 

कोशी प्रदेश सरकारको १ करोड ४४ लाख ८४ हजार ४९० को लागतमा निर्माण गरिएको दुईवटा हवन कुण्ड संञ्चालनमा ल्याईएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताईन् । नगर प्रमुख विमला राईका अनुसार, हवन कुण्डले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको संगमस्थल हलेसीमा पूजाआजा गर्ने भक्तजनलाई सहजता प्रदान गर्नेछ ।

बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले हवन कुण्डको निर्माणका लागि २०८१ वैशाख ४ गते संझौता गरि गत असार २० गते निर्माण कार्य सम्पन्न गरेको थियो । उद्घाटन समारोहमा बोल्दै निवर्तमान मुख्यमन्त्री कार्कीले हलेसीलाई तीन धर्मको धार्मिक राजधानीको रूपमा चित्रण गरे ।

त्रि–धार्मिक स्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनका लागि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त लगानीमा करिब ५ करोडको लागतमा सुविधायुक्त अतिथिगृह पनि निर्माणाधीन रहेको छ ।

यसैबीच, हलेसीमा ‘बोलबम’ मेला लागि रहेको छ । साउनको पहिलो सोमबारदेखि सुरु भएको यस मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान र चीनको तिब्बतबाट समेत दर्शनार्थीहरू हलेसी आएका छन् । हलेसी विकास समितिका अध्यक्ष गजुरमान राईका अनुसार, भक्तजनहरूले महादेव, पार्वती र गणेशलाई जल चढाएर पूजापाठ गर्ने प्रचलन छ ।

बोलबम मेलाको अवसरमा हलेसीका होटलहरू भरिभराउ छन् । नवनिर्मित हवन कुण्ड एवम् अन्य विकास कार्यहरूले हलेसीलाई एक प्रमुख धार्मिक गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पु¥याउने नगर प्रमुख विमला राईको भनाई छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया