छोरी छोडेर आमा बेपत्ता, अढाई वर्षकी छोरीको उद्दार

खगेन्द्र कार्की

दमक÷ झापाको दमक–१ निवासी मनोज साहकी अढाई वर्षीया छोरी सुरभी (निमिसा) भारत पश्चिम बंगाल दार्जीलिङ जिल्लास्थित शिलगढीको एउटा पार्कमा बेवारिसे अवस्थामा फेला परेकी छिन् ।

गतअसार ३२ गते बिहान करिब ९ बजेको समयमा मनोजकी कान्छी श्रीमती अन्दाजी ३० वर्षीया शोभा साह छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन् । आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभी मंगलबार दिउँसो करिब २ बजे शिलगढीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेको अवस्थामा पार्कका कर्मचारीले फेला पारी उद्दार गरेका थिए ।

सुरभीसँग फोन नम्बर र एउटा चिठी फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा पार्कको सीसी टिभी फुटेज हेर्दा एउटी महिलाले ती बालिकालाई त्यहाँ छाडेर हिँडेकी थिइन् । त्यसपछि प्रहरीले उद्दार गरेकी बालिकालाई कुचविहारको एउटा अनाथालयलाई जिम्मा लगाए । त्यहाँका स्थानीय सञ्चार माध्यमले सीसी टिभी फुटेजसहितको घटना सार्वजनिक गरेसँगै मनोजले छोरी सुरभी फेला परेको भनी खबर पाएका थिए ।

मनोजले तत्काल दमक प्रहरीको समन्वयमा काँकरभिट्टास्थित माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा शिलीगढी प्रहरीसँग सम्पर्क गरे । छोरीलाई लिन मनोज आवश्यक कागजातसहित बुधबार नै शिलगढी पुगेका थिए । मनोज कानूनी प्रक्रिया पूरा गरी छोरी लिन भारतमै रहेको बुझिएको छ । मनोज शिलगढी प्रहरीको सम्पर्कमा पुगेपछि मात्र पार्कमा फेला परेकी सुरभीलाई उनकै कान्छी आमाले छाडेर गएको भनी घटना खुलेको थियो । मनोजकी कान्छी श्रीमती शोभा भने अझै सम्पर्कविहीन छिन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया