इटहरी । मोरङ र झापामा प्रहरीले हातहतियार तथा लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानमा दुई जना पक्राउ परेका छन् भने मोरङको उर्लाबारीबाट बेवारिसे भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको छ ।मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा खानतलासी गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, तीन ग्राम सात मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र आठ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसैबीच, मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ। चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार राति गस्तीमा गएको प्रहरी टोलीले जङ्गलभित्र रातो प्लास्टिकको बोराभित्र लुकाएर राखिएको अवस्थामा हातहतियार र विस्फोटक सामग्री फेला पारेको हो। बरामद सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उता, झापाको कन्काई नगरपालिका–५ तारघेरा टोलबाट २४ वर्षीय पजन मण्डललाई २१० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका मण्डलको शरीर तलासी गर्दा प्रतिबन्धित लागूऔषध बरामद गरेको हो। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
६ साउन २०८३, बुधबार ०८:३४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो