लन्डनमा आप्रवासनविरुद्ध विशाल प्रदर्शन, भड्कियो हिंसा

zCqnQYsJJSU

लन्डनमा भएको आप्रवासन विरोधी (एन्टी-इमिग्रेसन) प्रदर्शनका क्रममा शनिबार हिंसा भड्किएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युनाइट द किंगडम नाममा गरिएको विरोध प्रदर्शनमा झन्डै डेढ लाख मानिस सहभागी भएका थिए। 
यसको नेतृत्व विवादास्पद अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले गरेका थिए।
प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। यस क्रममा २५ जनालाई पक्राउ गरिएको छ। 
यसैबीच त्यस प्रदर्शनविरुद्ध स्ट्यान्ड अप टु रेसिज्म समूहले काउन्टर प्रदर्शन गरेको थियो। त्यसमा पनि ५ हजार मानिस सहभागी भएको बताइएको छ। 
४२ वर्षीय टमी रोबिन्सनविरुद्ध धेरैवटा आपराधिक मुद्दा दर्ता भएका छन्।
उनले र्‍यालीलाई सम्बोधन गर्दै भने, ‘मौन बहुमत अब चुप लाग्ने छैन। आज सांस्कृतिक क्रान्तिको झिल्को हो।’
बेलायती र अंग्रेजी झण्डा फहराउँदै प्रदर्शनकारीहरू वेस्टमिन्स्टर ब्रिज पार गर्दै डाउनिङ स्ट्रिट पुगेका थिए।
युरोप र उत्तरी अमेरिकाका अति-दक्षिणपन्थी नेताहरूले त्यहाँ भाषण दिए। जसमा फ्रान्सेली नेता एरिक जेमोर र जर्मनीको एएफडी पार्टीका पिटर बाइस्ट्रोन पनि थिए।
यसैबीच, टेस्ला र एक्सका मालिक इलोन मस्कले पनि भिडिओ-लिंकमार्फत सन्देश दिए, ‘तपाईं हिंसा चाहनुस् वा नचाहनुस्, हिंसा तपाईंको बाटोमा आउँदै छ। या तपाईं प्रतिकार गर्नुहोस् वा मर्नुहोस्।’
प्रदर्शनमा रहेका ब्यानरहरूमा 'बोटहरू रोक्नुहोस्' जस्ता नारा लेखिएका थिए भने हालै मृत्यु भएका अमेरिकी कार्यकर्ता चार्ली कर्कको तस्बिर पनि थियो।
बेलायतमा हाल आप्रवासनविरुद्धको आक्रोश बढ्दै गएको छ। निगेल फराजको पार्टी रिफर्म युके बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ र शरणार्थीका लागि बनाइएका होटलविरुद्ध जताततै विरोध प्रदर्शन भइरहेको छ।
एक प्रदर्शनकारीले भने, ‘यो आक्रमण हो। उनीहरू बुझ्दैनन् कि हामी हाम्रो देश फिर्ता चाहन्छौँ।’
यसैबीच प्रति-प्रदर्शनमा संलग्न लेबर सांसद डायन एबोटले रोबिन्सन र उनका सहयोगीहरूले झुट र खतरनाक प्रचार फैलाइरहेको आरोप लगाएकी छन्। 
उनले भनिन्, ‘हामीले शरणार्थीहरूसँग ऐक्यबद्धता देखाउनुपर्छ र हामी एकताबद्ध छौँ भनेर देखाउनुपर्छ।’

zCqnQYsJJSU
प्रतिक्रिया