देश–विदेशमा मृत्युका शृंखला : अमेरिका, झापा र मोरङका घटनामा ७ जनाको ज्यान
फाष्ट मिडिया नेपाल संवाददाता
२ साउन २०८३, शनिवार ०८:५६ मा प्रकाशित
387
इटहरी । अमेरिका, झापा र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटना तथा करेन्ट लाग्ने घटनामा सात जनाको मृत्यु भएको छ। अमेरिकामा पौडी खेल्ने क्रममा घाइते भएका मोरङका एक युवकको उपचारका क्रममा ज्यान गएको छ भने झापा र मोरङमा भएका सडक दुर्घटना, करेन्ट लाग्ने तथा अन्य घटनामा थप छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४० वर्षीय बिदुर निरौलाको अमेरिकामा उपचारका क्रममा बिहीबार निधन भएको हो। करिब १० दिनअघि स्विमिङ पुलमा पौडी खेल्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। आठ वर्षअघि रोजगारीका लागि अमेरिका पुगेका निरौलाको असामयिक निधनले परिवार, आफन्त र पथरीशनिश्चरेवासी शोकमा डुबेका छन्।
झापाको गौरीगञ्ज–२ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा शुक्रबार कार र भारतीय नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मोरङ रतुवामाई–५ का ३० वर्षीय मोहम्मद नुर इस्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको छ। दुर्घटनामा घाइते कार चालक विराटनगर–१३ का विवेक सिंह उपचाररत छन् भने कार प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको बेलबारी नगरपालिका–११ मगर टोलका ७४ वर्षीय देशबहादुर मगर शुक्रबार साँझ पानी बग्ने ड्रेनमाथि मृत अवस्थामा फेला परेका छन्। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ।
झापाको कचनकवल–३ मा आफ्नै बारीमा जंगली हात्ती रोक्न राखिएको विद्युतीय तारमा करेन्ट लागेर २४ वर्षीय कमल गदाइलीको मृत्यु भएको छ। यस्तै गौरादह–६ का २५ वर्षीय विनोद शर्माको आफ्नै घरमा फलामको स्ट्यान्ड भएको पंखा चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
उता मोरङको केराबारी गाउँपालिका–५ शान्तिचोकमा टिपरको ठक्करबाट स्थानीय करिब ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा संलग्न टिपर र चालक विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।