निर्वाचन क्षेत्र केन्द्रीत बालेनको वाचापत्रको प्राथमिकता के परे ?

खगेन्द्र कार्की

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्।

प्रधानमन्त्रीका दाबेदारका रूपमा प्रस्तुत भएका शाहले संसद्मा प्रभावकारी कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने एजेन्डाहरूलाई मुख्य प्राथमिकता दिएका छन्।

बाचापत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौलिक हकहरूको व्यावहारिक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ। नागरिकका आधारभूत आवश्यकताहरू— गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई घरदैलोसम्म पुऱ्याउन आवश्यक कानुन निर्माण र बजेट व्यवस्थापनलाई उच्च प्राथमिकता दिने शाहले बताएका छन्। उनले भ्रष्टाचार र बेथिति विरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर खबरदारी गर्ने अठोट समेत व्यक्त गरेका छन्।

‘नेपालको संविधानको परिपालना गर्दै नागरिक मैत्री कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि सङ्घीय संसद्मा सक्रिय भूमिका निर्वाह गर्नेछु,’ बाचापत्रमा भनिएको छ, ‘राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका खेल्नेछु।’

शाहले शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकामा सफल सावित भएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि लागू गर्ने घोषणा गरेका छन्। यस कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीको बाध्यता न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यस्तै, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्ने र स्कुल रिटेन्सन प्रोग्राम मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने आकर्षक योजना बाचापत्रमा समेटिएको छ।

स्थानीय स्तरका भौतिक पूर्वाधार र ऐतिहासिक सम्पदाको संरक्षणमा पनि बाचापत्रले विशेष जोड दिएको छ। बालेन शाहले झापा–५ मा एक व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। यस सचिवालयले सांसद र नागरिकबीचको दूरी कम गर्ने र स्थानीयका गुनासाहरूलाई सिधै सदनसम्म पुऱ्याउने पुलको काम गर्ने बताइएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया