विराटनगरका मासु उत्पादक र व्ययवसायीले लिए एक हप्ते तालिम

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर ÷ विराटनगर महानगरपालिकाले जनस्वास्थ्यप्रतिको जिम्मेवारी बोधका साथ दैनिक उपभोग गर्ने मासु उत्पादक र विक्रेतालाई तालिम गराएको छ । 

महानगरको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्रीवितरणसम्बन्धी एकहप्ते तालिम गराएको हो ।

महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । तालिममा विज्ञ डा. गंगाराम यादव, डा. बोधप्रसाद पराजुली, डा. मनिषकुमार साह, डा. सराहना सुवेदी, शुभनारायण यादव र गणेश पौडेलले प्रशिक्षण दिनु भएको थियो । सहभागीहरुलाई स्वच्छ मासु उत्पादनदेखि बिक्रीवितरण तथा विभिन्न रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिनु भएको थियो । 

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मासु व्यवसायलाई व्यवस्थित बनाउन महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले पशु वधशाला निर्माणका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो । महानगरको सीमित बजेटले मात्रै वधशाला निर्माण गर्न गाह्रो पर्ने भएकाले संघीय र प्रदेश सरकारसित सहकार्य गरेर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । विराटनगर १९ का वडाध्यक्षसमेत रहनु भएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगर क्षेत्रभित्रका सबै माछामासु व्यवसायीहरुलाई प्रशिक्षित गर्ने बताउनुभयो । महानगरको सफाई अभियानलाई प्रभावकारी बनाउन पनि वधशाला निर्माण जरुरी रहेको उहाँले औंल्याउनुभयो । 

त्यस्तै सहभागीहरुका तर्फबाट मासु व्यवसायी संघ विराटनगरका अध्यक्ष सुभाषचन्द्र सिवाकोटीले महानगका विभिन्न चार स्थानमा व्यवस्थित माछामासु बजार बनाउन आफूहरु तयार रहेको बताउनुभयो । उहाँले महानगर र व्यवसायी मिलेर वधशाला निर्माण गर्न सकिने प्रस्ट पार्नुभयो । अर्का व्यवसायी टंकप्रसाद गौतमले व्यवसायीलाई तालिम दिएर महानगरले राम्रो कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । तालिममा सहभागीहरुलाई मेयर नागेश कोइराला र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । 


खगेन्द्र कार्की
प्रतिक्रिया