हिउँदे अधिवेशनको कार्यतालिका तयार : प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने

खगेन्द्र कार्की

दमक/ यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिए । उनका अनुसार संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् । माघ महिनाभरको संसद्को बैठकको कार्यतालिका तयार भएको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

त्यसपछिका बैठकहरूमा संसद्मा पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् । सोमबारको बैठकले तयार गरेको कार्यतालिका मङ्गलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले अनुमोदन गर्नेछ । मुख्य सचेतक बर्तौलाले आगामी अधिवेशनलाई प्रभावकारी बनाउन महत्वपूर्ण विधेयक एवं थाती रहेका कानुन पारित गर्नेगरी सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच समझदारी भएको जानकारी दिए ।

माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु भएपछि सात दिनसम्म प्रतिनिधिसभाको बैठक राख्न सहमति जुटेको छ । सोमबार सभामुखसहित दलका नेताहरूबिचको छलफलमा माघ १८ गते सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठक २२, २३, २४, २८,२९ र ३० गतेलाई राख्न दलहरूबिच सहमति जुटेको हो । ‘१८ गतेको बैठकमा सबै अध्यादेश पेस हुन्छ । त्यसपछि २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ,’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘२५,२६ र २७ संसदीय समितिहरू बस्नेछन् ।’ प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूले समेत १८ गतेको बैठकमा सम्बोधन गर्नेगरी दलहरूबिच छलफल भएको छ । आगामी संसदको हिउँदे अधिवेशन परिणाममुखी बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष सहमत रहेको बर्तौलाको भनाइ छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया