आज बेलुकी नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने

खगेन्द्र कार्की

चन्द्रग्रहणका मुख्य समयसूची
ग्रहण स्पर्श : दिउँसो ३ः३४ बजे
चन्द्रोदय (ग्रहणसहित) : बेलुकी ६ः०३ बजे
ग्रहण समाप्त : बेलुकी ७ः०२ बजे

नेपालमा यो वर्ष देखिन सकिने एकमात्र ग्रहण आज बेलुकी हुनेछ। आज बेलुकी नेपालबाट ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्नेछ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार स्पर्शको समयमा ग्रहण खग्रास भए पनि नेपालमा चन्द्रोदयपछि खण्डग्रास मात्र देखिनेछ। बेलुकी ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउनेछ र ७ बजेर २ मिनेटमा ग्रहण समाप्त हुनेछ। यसरी नेपालबाट करिब एक घण्टा ग्रहण देख्न सकिनेछ।

खगोलविद्हरूका अनुसार पृथ्वीले सूर्य र चन्द्रमाबीच पर्न जाँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो। चन्द्रमाको आधा वा केही भाग मात्र ढाकिँदा खण्डग्रास र पूरा ढाकिँदा खग्रास चन्द्रग्रहण हुने गर्छ।

नेपालमा यस वर्ष दोस्रो पटक ग्रहण देखिन लागेको हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण परेको थियो। सामान्यतः चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ।

धर्मशास्त्रका अनुसार ग्रहणको समयमा जप, स्नान, ध्यान, पाठ आदि गर्न फलदायी मानिन्छ। निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदय लगायतका ग्रन्थमा तीर्थस्थलमा वा नजिकको नदी, ताल, पोखरीमा स्नान गर्न सिफारिस गरिएको छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार चन्द्रग्रहणमा तीन प्रहर (करिब नौ घण्टा) अघि सुतक लाग्ने मान्यता छ। सुतक अवधिमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकका लागि भोजन निषेध गरिएको छ। समितिले स्वीकृति दिएको पात्रोमा मंगलबार बिहान ९ः०३ बजेपछि सुतक लाग्ने उल्लेख छ।

विशेष उपकरणविना हेर्न सकिने ग्रहण

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट हेर्न सकिने यो एक मात्र ग्रहण हो। मौसमले साथ दिएमा देशका सबै भागबाट खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने उनले बताए।

ग्रहण अवलोकनका लागि विशेष उपकरण आवश्यक छैन। घरको छत, खुला चौर वा नजिकैको डाँडाबाट नाङ्गा आँखाले हेर्न सकिनेछ। चन्द्रोदयसँगै ग्रहण सुरू हुने भएकाले उच्च भूभाग ग्रहण हेर्नका लागि उपयुक्त हुने खगोलविद्हरूले सुझाव दिएका छन्।

वैज्ञानिक व्याख्या अनुसार पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण हुन्छ। चन्द्रमाको कक्षा पृथ्वीको कक्षीय धरातलभन्दा करिब पाँच डिग्री झुकावमा भएकाले हरेक पूर्णिमामा ग्रहण लाग्दैन। चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई काट्ने दुई बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ।


खगेन्द्र कार्की
प्रतिक्रिया