भारतीय अवरोधले थलियो चिया उद्योग, झापाका सबै उद्योग र बगान बन्द
खगेन्द्र कार्की
६ असार २०८३, शनिवार ०७:२३ मा प्रकाशित
749
झापा। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोध हटाउन नेपाल सरकार र भारत पक्षबाट कुनै प्रभावकारी पहल नभएपछि झापाका सबै चिया उद्योग र बगान बिहीबारदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघले झापाका ३० वटा साना–ठूला चिया उद्योग र करिब दुई दर्जन चिया बगान बन्द गरेका हुन ।
उद्योग तथा बगान बन्द भएसँगै झापामा मात्रै करिब ६० हजार श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन्। चिया उत्पादनको प्रमुख जिल्ला झापामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रमा व्यावसायिक चिया खेती हुँदै आएको छ। यसअघि इलामका ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि नै बन्द अवस्थामा रहेका छन्।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय चिया बोर्डले मे १ तारिखदेखि लागू गरेको नयाँ मापदण्डअनुसार प्रत्येक खेपको चियाको गुणस्तर परीक्षण अनिवार्य गरेपछि नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको हो। व्यवसायीहरूले डेढ महिनादेखि समस्या समाधानका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका भए पनि कुनै सुनुवाइ नभएको उनले बताए।
“बजारमा पुगिसकेको चिया समेत बिक्री गर्न नपाउने अवस्था सिर्जना भएको छ,” अध्यक्ष पराजुलीले भने, “हामीले यो व्यवस्था अव्यवहारिक भएको भन्दै सबै निकायमा आवाज उठायौं, तर मागको सुनुवाइ भएन। निर्यात अवरुद्ध हुँदा किसान, श्रमिक र उद्योग सबै संकटमा परेका छन्।”
व्यवसायीका अनुसार नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँसम्म पुग्छ। यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ। चिया क्षेत्रबाट राज्यले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ।
संघले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कूटनीतिक तथा नीतिगत पहल गर्न आग्रह गरेको छ। तर हालसम्म सरकारबाट ठोस प्रतिक्रिया नआएको उद्योगीहरूको गुनासो छ।
उद्योगीहरूले भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ लाई नेपाली चियामाथिको ‘अघोषित नाकाबन्दी’ को संज्ञा दिएका छन्। उनीहरूका अनुसार गुणस्तर परीक्षण, भण्डारण अभाव, अपारदर्शी प्रक्रिया र ढिलासुस्तीले निर्यात प्रणाली जटिल बनेको छ।
उता, भारतपछि नेपाली चियाको सम्भावित बजार मानिएको बंगलादेशमा उच्च भन्सार शुल्कका कारण निर्यात विस्तार हुन नसकेको व्यवसायीहरूको भनाइ छ। चिया व्यवसायी सागर घिमिरेका अनुसार झापामा मात्रै वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको अर्थोडक्स र सीटीसी चिया कारोबार हुने गरेको छ।
इलामपछि झापाका उद्योगसमेत बन्द हुन थालेपछि नेपालको चिया उद्योग गम्भीर संकटमा प्रवेश गरेको छ। व्यवसायीहरूले तत्काल कूटनीतिक पहल र निर्यात सहजीकरण नभए चिया क्षेत्रमा ठूलो आर्थिक तथा सामाजिक असर पर्ने चेतावनी दिएका छन्।