दमक/ झापा र मोरङका विभिन्न ठाउँमा केही सातायता जंगली हात्तीको उपद्रो र प्रवेशले आतंकनै मच्चिएको छ । कतिपय वनजंगलदेखि बस्तीसम्म दिउँसो र रातीको समयमा हात्तीको प्रवेश हुँदा स्थानीयवासीहरु त्रासको जीवन विताउन बाध्य भएका छन् । हात्तीले धनमाल नष्ट गर्नेदेखि लिएर आक्रमण गर्दा ३ जनाको मृत्यु समेत भइसकेको छ । रातविरात गाउँठाउँमा जंगली हात्ती प्रवेश गर्दा जनजीवन समेत प्रभावित बन्न पुगेको छ ।
यसैक्रममा स्थानीय सामुदायिक वनमा दाउरा खोज्न गएकी झापाको कचनकवल गाउँपलिका–७ की ३५ वर्षीया महिला केलावती राजवंशीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । उता मोरङको सुन्दरहरैँचामा यही पुस ७ र १५ गते हात्तीकै आक्रमणबाट थप दुई जना महिलाकै ज्यान गइसकेको छ ।
झापाको कचनकवलको स्थानीय दिपज्योति सामुदायिक वनमा साथीहरुसँगै दाउरा खोज्न गएकी राजवंशीको हात्तीसँग जम्काभेट भएको थियो । बुधवार मध्यान्ह दिनमा कचनकवल गाउँपलिका –७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएकोमा राजवंशीलाई जंगली हात्तीले लखेटेको थियो ।
उनी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्नेक्रममा वनक्षेत्रनजिक जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा साँझ ५ः१० बजे अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा.... जंगली हात्तीको नियमित उपद्रोका कारण झापाको जनजीवन प्रभावित बन्न थालेको छ । हात्तीहरू हुल लगाएर आउने कारण जनधनको क्षति गराउन थालेपछि जनजीवन प्रभावित बनेको हो । केही समययता झापाको कमल गाउँपालिकाको वडा नं. ५ स्थित सितापुरी, एकता चौक र सावित्रा चौकमा पनि रात्रीकालिन समयमा हात्ती प्रवेश गरेका थिए । हात्तीलाई साइरन र आगोको सहायताले आएकै बाटोतर्फ फिर्ता गराइएको थियो । कचनकवल गाउँपालिकामा बस्ती नजिकै रहेको जङ्गलमा रहेका हात्तीहरूले क्षति पुर्याउन थालेका छन् । बिहीबार बिहान ६ वटाको संख्यामा आएका हात्तीले कचनकवल–१ मा रामप्रसाद किस्कुको घर भत्काएको छ । घर पूर्णरूपमा भत्काएपछि किस्कु परिवारको बिचल्ली भएको छ ।
घर भत्काउनुका साथै घरभित्र रहेको अन्नपात सबै खाएको र नष्ट गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । मध्यरातमा हात्तीको हुल आएपछि घरका मानिसहरूले भागेर ज्यान बचाएका छन्, भट्टराईले भने ।
उता मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगी र आसपासका गाउँमा रातभर हात्तीले दुःख दिन थालेको छ । मंगलबार राति १२ बजेपछि बुधबार बिहान ४ बजेसम्म थापाडाँगी र आसपासका ६ वटा घरमा हात्तीले आक्रमण गरी क्षति पुर्याएको सो वडाका वडाध्यक्ष कल्याणकुमार राईले बताए । वडाध्यक्ष राईका अनुसार डिल्लीराम खतिवडाको घरको भान्साघर भत्काएको छ । यस्तै खड्गप्रसाद खतिवडाको जस्तापाताले बेरेको बार भत्काएर भकारीको धान खाएको छ ।
यसैगरी नवराज भट्टराई, पिताम्वर पौडेलको घरको बेरा भत्काएर अन्न खाएको छ । लक्ष्मी मरिकको घरको बरण्डा भत्काइदिएको छ । घरमा भण्डारण गरेको केही नभएकाले लक्ष्मी मरिकको घरमा मात्र क्षति पुगेको वडाध्यक्ष राईले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो