चाइनिज पर्यटक लिएर स्याफ्रुबेसीका उडेको हेलिकप्टर दुर्घटनामा परी चालकसहित ५ जनाको निधन

खगेन्द्र कार्की

इटहरी । नेपाली आकाशमा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । बुधबार दिउँसो ४ चाइनिज पर्यटक लिएर काठमाडौं त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेपछि चालकसहित ५ जनाको निधन भएको छ । १८ जनाको ज्यान जाने गरी भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाका अवशेषहरु टिप्न नभ्याउँदै १५ दिनको अन्तरालमा सूर्यचौरको डाँडामा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो ।

३० वर्षदेखि उडाइरहेका क्याप्टेन अरुण मल्ल ४ जना चिनीयाँ यात्रु छोडेर फेरी विदेशी पर्यटक लिन आउने तालिका लिएर उडेका थिए तर शिवपुर गाउँपालिका–७ सूर्यचौर डाँडामा अस्ताउन पुगे । उनीसँग चिनियाँ नागरिक (पर्यटक) जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु गरी ४ पुरुष र १ महिलाको मृत्यु भएको छ । 

गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको बताए । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले बताए । 

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो । घटनाको खबर आउनेवित्तिसकै खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टार परिचालन गरिएको थियो । 

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उनले जानकारी दिए।

खोज तथा उद्धारका लागि काठमाडौंबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ 


खगेन्द्र कार्की
प्रतिक्रिया