इटहरी । पूर्वका विभिन्न मुख्य बजारलाई जोडेर विराटनगर जाने बाटो, पुल बनेपछि इटहरी हुँदै विराटनगर जानेको यातायातसँगै यात्रुको संख्या घट्न थालेको छ । विगतमा इटहरीलाई केन्द्रविन्दु बनाएर आवतजावत गर्नेहरुले अहिले विभिन्न सहरबजारबाट सिधै विराटनगर, धरान जान सक्ने भएका छन् । आर्थिक रुपबाट र समयको बचतले यात्रुलाई सहज दिलाए पनि इटहरी बजारलाई भने त्यसले घाटा भएको छ । पूर्वको व्यापारीक चोकका रुपमा परिचित हुँदै आएको इटहरी अब चोक नभएको पुष्टि हुँदैछ । झापा, मोरङ हुँदै पूर्वी पहाडी जिल्ला र विराटनगर जाने यात्रुहरु अहिले इटहरी नआइ आवतजावत गर्न सक्ने भएका छन् । मोरङको सुन्दरहरैंचा (विराटचोक), पथरी, उर्लाबारी, दमकलगायत विभिन्न स्थानबाट सिधा विराटनगर जान सकिने भइसकेको छ । यातायातको दुरीका हिसाबले र खर्चको हिसाबले धेरै कम लाग्ने गरी ती मार्गहरु तय भएका छन् । यता केराबारी हुँदै सिधै धरान जाँदा झण्डै आधा बाटो छोटिएको छ । यस कारण अब इटहरीले नयाँ सोच र भिजनका लागि इटहरीलाई चिनाउन आवश्यक देखिन्छ ।
विराटनगरबाट–रङ्गेली हुँदै झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा पुल बनेपछि ४६ किलोमिटर सडक छोट्टिएको छ ।
यसअघि झापाको गौरीगञ्जबाट मोरङको आम्बारी बजार आउन दमक हुँदै उर्लाबारी आएर दक्षिण लाग्नु पथ्र्यो । रतुवामा पुल निर्माण भएपछि उक्त बाटो सात किलोमिटर यात्रा तय गरेपछि पार गर्न सकिन्छ । मोरङको आम्बारीबाट महादेवा हुँदै झापाको खजुरगाछी–गौरीगन्ज पुग्न विराटनगर हाटखोलाबाट बस छुट्न थालेका छन् । रङ्गेली, डाइनिया आम्बारी हुँदै झापाको गौरीगन्जसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा आएपछि दक्षिणी मोरङका ग्रामीण बजारसँग झापाका बजारको सिधा सम्पर्क स्थापित भएको छ ।
विराटनगरदेखि गौरीगन्जसम्म दैनिकी ३०/३० मिनेटमा १५ वटा सार्वजनिक बस नियमित रूपमा सञ्चालन हुन थालेको रङ्गेलीका गोपाल मण्डलले बताए । मण्डलका अनुसार मानिससँगै गाई वस्तु व्यापारीलाई सहज भएको छ । उनले भने, “कृषिजन्य उत्पादन बिक्रीका लागि मात्र होइन । निर्माण सामग्री विराटनगरबाट गौरीगन्ज पुर्याउनसमेत सहज भएको छ । रतुवामा पुल नबन्दा विराटनगरका उद्योगले निर्माण सामग्री इटहरी, दमक हुँदै गौरादहबाट गौरीगन्ज पुर्याउने गर्थे ।”
विगतमा इटहरी हुँदै दमक–गौरादहको बाटो जाँदा ९५ मिलोमिटर दुरी पार गर्नु पथ्र्यो । अब ४९ किलोमिटरमा विराटनगरबाट गौरीगन्ज पुग्न सकिन्छ । रङ्गेली–गौरीगन्ज सडकका बस कर्मचारी भुवन रायका अनुसार विराटनगरबाट पहिलो बस बिहान साढे ६ बजे छुट्ने र अन्तिम बस बेलुकी ५ बजे छुट्ने र गौरीगन्जबाट विराटनगरका लागि बिहान ५ बजेर ५० मिनेटमा छुट्ने र अन्तिम बस बेलुकी ५ बजेर १५ मिनेटमा छुट्ने रायले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो