देवानगञ्ज घटनापछि सुनसरीमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोड

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सोमबार जिल्लाका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन्। विरोध प्रदर्शन उग्र बनेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेनासमेत परिचालन गरेको छ।
आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् भने सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनाको विरोधमा सोमबार बिहानदेखि प्रदर्शनमा उत्रिएका समूहले देवानगञ्जका विभिन्न स्थानमा घर, पसल र सवारीसाधनमा आगजनी तथा तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज–२ मा करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र घरअघि पार्किङ गरिएको ट्र्याक्टरमा आगजनी गरेको थियो। अबाफ अन्सारीको घर र दुई मोटरसाइकलमा पनि आगो लगाइएको छ भने कप्तानगञ्जमा परालका दुई टालीमा समेत आगजनी भएको छ।
हिंसात्मक घटनाकै क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। सुरक्षा उपस्थितिपछि केही स्थानमा भीड तितरबितर भए पनि तनाव कायमै रहेको प्रहरीले जनाएको छ।
उता, जिल्ला सदरमुकाम इनरुवामा पनि प्रदर्शन फैलिएको छ। बजार बन्द गराउँदै हिँडेको समूहले एक सर्वसाधारणमाथि कुटपिट गर्नुका साथै बजाज शोरुममा तोडफोड गरेको प्रहरीले जनाएको छ। अदालत रोडमा म्याजिक गाडी र प्रहरी बिटमा पनि क्षति पुर्‍याइएको छ। प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गका केही खण्डमा यातायात सेवा प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालयले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरे पनि प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गर्दै आन्दोलन जारी राखेका थिए।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया