भ्रष्टाचार न्युनिकरणमा कसैको अनुहार नहेर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

खगेन्द्र कार्की

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार न्युनिकरणका लागि कसैको अनुहार नहेरिने भएकोले शंका नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिमा भएको छलफलमा भाग लिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

छलफलमा रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको प्रतिबद्धता पुरानै भएको र दलहरुको संलग्नता जगजाहेर रहेको भन्दै उनले सोधेका थिए, ‘यसलाई अन्त्य गर्न निरन्तरको प्रतिबद्धता पर्याप्त होला र ?’ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले कसैको अनुहार हेरिँदैन भनेर आफूले भनिसकेको स्मरण गराए । ‘कसैको अनुहार नहेरी कडा नीति अख्तियार गर्छौं’ यो प्रचारबाजी नभई स्थितिमा सुधार ल्याउन चाहेको भन्दै उनले भने, ‘कसैप्रति स्नेहभाव न वैरभाव । यस्ता कुराबाट पृथक् रहेर देशका लागि काम गर्ने हो ।’ प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने आफ्नो प्रतिबद्धतामा शंका नगर्न सांसदहरुलाई आग्रह गरे ।

‘कहिल्यै भ्रष्टाचार गरिनँ, गर्न इजाजत दिएको छैन । मेरो नजरभन्दा बाहिर भएको भए बेग्लै कुरा हो,’ चित्रगुप्तका पनि अगाडि जवाफ दिन तयार रहेको भन्दै उनले भने, ‘मेरो बुताभन्दा बहिर अरुले गरेको कुरा रोक्न नसकिएको होला । तर गर्न दिएको होइन ।’

त्यसका बाबजुद आशंका देखिएको भन्दै उनले कुनै दिन तल–माथि नहुनेमा ढुक्क हुन आग्रह गरे । ‘केही आशंका जस्तो गर्नुभएको छ, केही आधारहरु रहे होलान् । तर आजको सरकारको सम्बन्धमा शंकामुक्त भएर चल्नु भए हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा पनि त्रुटि यो सरकारले गरेको पाउनुभो भने यो समितिमा बोलाउनुस् । प्रधानमन्त्री हाजिर हुन्छ, प्रधानमन्त्रीले स्पष्ट पार्छ ।’ आफ्नो नेतृत्वको सरकार गल्ती गर्न नभई देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन बनेको र त्यसअनुसार नै अगाडि बढ्ने आश्वासन प्रधानमन्त्री ओलीले दिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया