इटहरी । किराँत याक्थुङ (लिम्बू) समुदायले शुक्रबार आफ्नो मौलिक पर्व सिसेक्पा तङनाम देश–विदेशमा विविध सांस्कृतिक कार्यक्रम गरी मनाएका छन्। साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने, नयाँ ऋतुको स्वागत गर्ने तथा सुख, समृद्धि र सहकालको कामना गर्ने पर्वका रूपमा लिइन्छ।
लिम्बू समुदायको बाक्लो बसोबास रहेका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, झापा, मोरङलगायत पूर्वी नेपालका जिल्लासहित देशका अन्य भाग र विदेशमा रहेका समुदायले पनि शुभकामना आदानप्रदान, याःलाङ (धाननाच), केःलाङ (च्याब्रुङ नाच) तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी पर्व मनाएका हुन्। पाँचथरको फिदिमस्थित किराँत याक्थुङ चुम्लुङ हिममा आयोजित कार्यक्रममा समुदायका अगुवाले मौलिक भाषा, लिपि, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका थिए।
मुन्धुम र किराँत सभ्यताका अध्येताहरूका अनुसार सिसेक्पा तङनाम केवल धार्मिक पर्व नभई प्रकृतिसँगको सहअस्तित्व, सामुदायिक एकता र सांस्कृतिक पहिचानको प्रतीक हो। पर्वका दिन बिहानै खेतबारी र वनबाट नयाँ फलफूल, अन्न तथा विभिन्न वनस्पतिका पात संकलन गरी हरियो बाबियोको डोरीमा उनेर घरको मूल ढोकामा झुन्ड्याउने परम्परा छ। साँझ इष्टदेवको आराधना गर्दै परिवारसँग परम्परागत परिकार खाने तथा थाल, नाङ्लो, झ्याम्टा र ढोल बजाएर रोगव्याधि र नकारात्मक शक्तिलाई घरबाट बाहिर लखेट्ने सांस्कृतिक अभ्यास गरिन्छ।
किराँत सभ्यता तथा इतिहासका अध्येता लक्ष्मण लावतीले यस्ता पर्वले नयाँ पुस्तालाई भाषा, संस्कृति र परम्परागत जीवनशैलीसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। पछिल्ला वर्षहरूमा युवा पुस्ताको सहभागिता बढ्दै गएको र स्थानीय तहहरूले पनि पर्वको संरक्षण तथा प्रवर्द्धनमा सहयोग गर्न थालेको समुदायका अगुवाहरूको भनाइ छ। उनीहरूले मौलिक संस्कृतिको संरक्षण र भावी पुस्तामा हस्तान्तरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।