गत २४ घण्टाका समाचार सारांश (संक्षेप)

खगेन्द्र कार्की

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।
०००००
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा राजस्वमार्फत १४ खर्ब ५ अर्ब ३१ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले राजस्वबाट उक्त रकम संकलन हुने अनुमान प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेट वक्तव्यअनुसार कूल स्रोत व्यवस्थापनपछि ६ सय ५७ अर्ब २९ करोड रूपैयाँ न्यून हुने अनुमान गरिएको छ । उक्त न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ सय ४७ अर्ब २८ करोड रूपैयाँ परिचालन गरिनेछ ।
राजस्व र वैदेशिक सहायताबाट अपुग हुने ४ सय १० अर्ब रूपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने अर्थमन्त्री वाग्लेले बताए ।
००००
सरकारले आगामी आर्थिक वर्षका लागि २५ प्रतिशत बजेटको आकार बढाएर ल्याए पनि साढे ६ अर्ब बढीको घाटा रहेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् ।
जुन अघिल्लो चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।
गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका थिए ।
००००
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विभिन्न कर तथा महसुलका दरमा व्यापक हेरफेर गरेको छ । बजेटले आयकरमा छुट तथा सहुलियतका व्यवस्था विस्तार गरेको छ भने चुरोट, मदिरा लगायतका वस्तुमा कर बढाएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकर छुटको सीमा दोब्बर वृद्धि गरी १० लाख रूपैयाँ पुर्‍याइएको जानकारी दिए । साथै, व्यक्तिगत आयकरको दर १० प्रतिशतले घटाइएको छ ।
सरकारले हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ । औद्योगिक कच्चा पदार्थका २७३ प्रकारका वस्तुमा लाग्ने भन्सार महसुल घटाइएको छ भने विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरिएको छ ।
भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरलगायतका करलाई एकीकृत गरी ‘हरित कर’मा समाहित गरिएको छ ।
बजेटले चुरोटमा लाग्ने कर १० प्रतिशतसम्म बढाएको छ । मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क पनि वृद्धि गरिएको छ । आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगका रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याइने व्यवस्था गरिएको छ ।
डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले बिजक जारी भएकै समयमा मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था बजेटमा गरिएको छ ।
सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा गर्दा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम कर मानिने व्यवस्था गरिएको छ । सूचना प्रविधि सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिइनेछ भने सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा शतप्रतिशत छुट दिइने घोषणा गरिएको छ ।
सरकार वा करदाता पक्षबाट अदालत वा अन्य न्यायिक निकायमा विचाराधीन कर विवाद तोकिएको म्यादभित्र निर्धारित कर रकममा एक प्रतिशत थप गरी भुक्तानी गरेमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।
नेपालभित्र पैठारी हुने केही वस्तुमा ‘आन्तरिक उत्पादन प्रवर्द्धन शुल्क’ लगाइएको छ । नाफा नकमाउने उद्देश्यले स्थापना भएका मित्रराष्ट्रका पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था पनि गरिएको छ ।
महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको १० वर्षसम्म पूर्ण आयकर छुट दिने घोषणा गरिएको छ ।
त्यस्तै, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम् दरमा समता शुल्क लगाइनेछ ।
अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाइने व्यवस्था गरिएको छ ।
००००
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत कर्मचारी प्रशासन, तलब वृद्धि र संगठनात्मक संरचनामा महत्त्वपूर्ण घोषणाहरू गरेका छन् ।
यो बजेटले कर्मचारीको तलब २१ प्रतिशतसम्म बढाएर सुविधा दिएको छ भने अर्कोतिर मन्त्रालय र कार्यालयहरूको संख्या घटाएर र डिजिटल टाइमकार्ड जस्ता संयन्त्रमार्फत कर्मचारीलाई थप अनुशासित र नतिजामुखी बनाउन खोजेको छ।
००००
प्रधानमन्त्री बालेन शाहले नेपाली जनतालाई ढुक्क हुन आग्रह गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेका  छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको राति बालेनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस् १’
००००
नेकपा (एमाले) ले पार्टीको आन्तरिक सुदृढीकरण र वर्तमान राजनीतिक परिस्थितिबारे विशेष कार्ययोजनासहित ‘अन्तरपार्टी निर्देशन–२’ जारी गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकका निर्णयहरू समेटेर जारी गरिएको उक्त निर्देशनमा पार्टीलाई जगैदेखि मजबुत बनाउन ‘मिसन पार्टी जागरण’ अभियान घोषणा गरिएको छ।
निर्देशनमार्फत एमालेले सातै प्रदेशका ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेर कार्यविभाजन गरेको छ।
००००
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार  ६०० र चाँदी १७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४० कायम भएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया