इटहरी । आजबाट यस वर्षको बडादसैं सुरु भएको छ । आज घर तथा मठमन्दिरमा जमरा राखेर घटस्थापना गरेसँगै यस वर्षको दसैं सुरु भएको हो।
नेपाल पञ्चाङ्ग विकास समितिका अनुसार जमरा (घटस्थापना) राख्ने उत्तम साइत साइत ९ बजेर १६ मिनेटमा रहेको बताइएको छ । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवं महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।
घटस्थापना गरिसकेपछि कलशको मध्यमा स्थापित नवदूर्गामध्येकी पहिली देवी शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्री हिमालयकी पुत्री पार्वतीको अर्को नाम हो । वृषभ वाहन भएको कारणले नै यी देवीलाई वृषरुढा नामले समेत चिन्ने गरिएको छ । शैलपुत्री दूर्गाको पहिलो रुप भएकोले पनि नवरात्रमा उनको पहिलो दिन घटस्थापनलगत्तै पूजा गर्ने गरिन्छ ।
पौराणिक कालदेखि मानिँदै आएको यस खुसियालीको उत्सव भगवतीको पूजाआजा गरी मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दसैं मनाइने गरिन्छ ।
महाअष्टमी र महानवमी तिथि एकैदिन परे पनि चौथी तिथी दुई दिन पर्दा समग्रमा यसपालि पनि दसैं १५ दिन नै छ । आगामी २० र २१ गते दुई दिन चौथी तिथि परेको छ ।
आज घरघरमा जमरा राखेर सुरु हुने दसैं ३० असोजमा पर्ने कोजाग्रत पूर्णिमाका दिनबाट सकिनेछ । आश्विन शुक्ल प्रतिपदाका दिन बिहीबार पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापना गरेर बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा घटस्थापना गरी नवदुर्गाको स्थापना गरिनेछ । पूजाकोठामा घैंटो अथवा घडामा जल भरी माथिपट्टि आँप चाप बरपीपलको पात राख्ने गरिन्छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको पण्डित लक्ष्मीप्रसाद ढकालले बताए ।
घटस्थापना गरिएको स्थानमा थापिएकी देवीलाई नै नवमीका दिनसम्म पूजा गर्ने चलन छ । त्यस स्थानमा दुर्गा सप्तसती र चण्डी पाठ पनि गरिन्छ । काठमाडौंको हनुमानढोका दरबारको दसैंघरमा तथा राष्ट्रपति भवन शीतल निवासमा वैद्धिक विधिपूर्वक पञ्चांगको साइतनुसार जमरा र घडा राखिनेछ ।
सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बलि दिई, हात हतियार र निशानको पूजा गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ ।
समितिका अनुसार २६ असोज शनिबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । त्यही दिन बिहान ८ बजेर ३३ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई विसर्जन गरिने शुभ साइत रहेको समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । उनका अनुसार देवी विसर्जन गरिएपछि देवीको प्रसादस्वरूप टीका र जमरा साइतमा लगाउने परम्परा छ । त्यस दिनभर नै टीका लगाउँदा राम्रो हुने प्रा.डा. भट्टराईले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो