कांग्रेसले महाधिवेशन पेपरलेस बनाउने छलफल, धनकुटामा १९ जनाले छोडे पार्टी

खगेन्द्र कार्की

इटहरी । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणको म्याद आगामी साउन ३ गतेसम्म थप गरेको छ । यससँगै महाधिवेशनको निर्वाचन प्रक्रिया पूर्ण रूपमा डिजिटल वा पेपरलेस बनाउने तयारी पनि अघि बढाएको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको समय असार २० बाट साउन ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो। कांग्रेसले यसअघि नै अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाएको छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसको तयारीस्वरूप केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष बनाउने उद्देश्यसहित विभिन्न निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनमा सम्भव भएसम्म निर्वाचन प्रक्रिया पूर्ण रूपमा डिजिटल (पेपरलेस) बनाउने वा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । समितिका अनुसार यसबाट मतदान प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै निर्वाचन आचारसंहिता स्वतः लागू हुने भएकाले विधानमा अन्यथा व्यवस्था भएको बाहेक सबै तहका नेता, कार्यकर्ता र निकायलाई यसको पूर्ण पालना गर्न समितिले आग्रह गरेको छ ।
निर्वाचन अधिकृत छनोटमा पनि समितिले नयाँ व्यवस्था गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला, निर्वाचन क्षेत्र तथा महानगर–नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिइने निर्णय भएको छ ।
त्यसैगरी निर्वाचन कार्यमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि कानुन व्यवसायी तथा अन्य पेशागत समूहका स्वयंसेवकको रोस्टर तयार गरिनेछ । सूचीमा समावेश भएका व्यक्तिलाई आवश्यक अभिमुखीकरण तालिम दिएपछि मात्रै निर्वाचन अधिकृतका रूपमा परिचालन गरिने समितिले जनाएको छ ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठकले गरेका सबै निर्णय कार्यान्वयनका लागि जानकारीस्वरूप केन्द्रीय कार्यसमितिमा पेश गरिनेछ । कांग्रेसले महाधिवेशनको तयारीलाई समयमै सम्पन्न गर्न सदस्यता व्यवस्थापन र निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ ।
धनकुटामा १९ जनाले छोडे कांग्रेस
धनकुटा । धनकुटामा नेपाली कांग्रेसका १९ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पत्र लेखेर साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टी छोड्नेहरूमा दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राई लगायतका नेताहरू रहेका छन्। उनीहरूले बुझाएको पत्रमा पार्टीभित्र काम गर्ने वातावरण नरहेको र पछिल्लो समय देखिएको वैचारिक मतभेदका कारण पार्टीमा बस्न नसकिने उल्लेख गरिएको छ । पार्टी परित्याग गरेका नेताहरूले हालसम्म आफ्नो आगामी राजनीतिक यात्राबारे औपचारिक जानकारी दिएका छैनन् । यद्यपि, उनीहरू हर्क साम्पाङ राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टी मा आबद्ध हुन सक्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया