भ्रष्टाचारका विरुद्धमा देशव्यापी आन्दोलन सुरु

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । नेपाली नागरिकलाई भुटानी शरणार्थी (गैर नागरिक) बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान शनिबारबाट सुरु भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरू धमाधम पक्राउ पर्दै गएपछि सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान देशभर फैलिँदै गएको हो । सोही क्रममा शनिबारस्वतन्त्र नागरिक समाज इटहरी र सुन्दरहरैचाले संयुक्त रुपमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेको छ । 

यसरी भ्रष्टाचार विरोधी अभियान नागरिकस्तरबाटै उठ्दै गएपछि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको समेत आत्मबल बढेको छ । 

शनिबार देशका विभिन्न स्थानमा नागरिकस्तरबाटै उठेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई समेत खबरदारी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सर्वसाधारण नागरिक, राजनीतिक दलका कार्यकर्ता, नागरिक अगुवाहरू सहभागी हुँदै भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमार्फत भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनमा सहभागीले ‘करोडौंको महल तिमीलाई कसले किन्दियो ?, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने ? लगायतका नारा लेखेको प्लेकाड प्रदर्शन गरेका थिए भने प्रदर्शनकारीले कारबाही प्रक्रिया अघि बढाउँदा खुट्टा नकमाउन सरकारलाई खबरदारीसमेत गरेका छन् । विराटनगर, धरानलगायतका ठाउँमा समेत एकै पटक भ्रष्टाचार विरोधी प्रदर्शन भएका छन् । 

‘नक्कली शरणार्थी प्रकरणमा अन्य ठूला नेताको पनि संलग्नता हुन सक्छ, विस्तृतमा र निष्पक्ष छानबिन हुनुपर्छ, शीर्ष नेता दोषी रहेको पाइयो भने पनि उनीहरूलाई कारबाही हुुनपर्ने माग उनीहरुको हो ।

यसैगरी, नेकपा एमालेले पार्टीबाट कारबाही गरेका एमालेका सचिव टोपबहादुर रायमाझीको समेत सो प्रकरणमा संलग्नता रहेको भन्दै प्रहरीले खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । प्रहरीले हालसम्म नक्कली शरणार्थी प्रकरणमा १२ जनालाई पक्राउ गरिसकेको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया