व्यक्तिगत तथा व्यवसायिक प्यान लिने ७० लाख बढी

खगेन्द्र कार्की

इटहरी । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ । त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार उत्साहजनक सुधार देखिएको छ।

पान दर्तामा उल्लेख्य वृद्धि

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ सम्ममा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। आर्थिक वर्ष २०८०÷८१ मा १ लाख ५१ हजार ३७७ जना नयाँ करदाताले व्यावसायिक पान लिएका थिए भने आव २०८१÷८२ मा १ लाख १८ हजार १३८ जना थपिएका छन्।

त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर  लिनेको संख्या झन् ठुलो छ । हालसम्म ४९ लाख २० हजार ३८९ जनाले व्यक्तिगत पान लिएका छन्। आर्थिक वर्ष २०८०÷८१ मा ६ लाख १७ हजार ५३२ जनाले व्यक्तिगत पान लिएकोमा आव २०८१÷८२ मा यो संख्या बढेर ६ लाख ५३ हजार २४३ पुगेको छ ।

भ्याट र अन्तःशुल्कको दायरा विस्तार

मूल्य अभिवृद्धि कर तर्फ पनि करदाताको सहभागिता विगतका वर्षको भन्दा बढेको छ । तथ्यांक अनुसार यस आर्थिक वर्षको अन्त्यसम्ममा ३ लाख ५९ हजार ६६० करदाता भ्याटको दायरामा समेटिएका छन्। आव २०८०÷८१ मा २६ हजार ५४० जना भ्याटमा दर्ता भएकोमा आव २०८१÷८२ मा २४ हजार ६४३ करदाता थपिएका छन् ।

यसैगरी, अन्तःशुल्क तर्फ आव २०८१÷८२ सम्ममा १ लाख ६१ हजार ७२४ करदातालाई इजाजतपत्र प्रदान तथा नवीकरण गरिएको छ, जुन अघिल्लो आव २०८०÷८१ मा १ लाख ३७ हजार २५९ रहेको थियो ।

आय विवरण बुझाउनेको संख्या १५ लाख नाघ्यो

आय कर विवरण बुझाउनेहरुको तथ्यांकले पछिल्लो समय कर सहभागितामा सकारात्मक सुधार देखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा ११ लाख ३५ हजार २१७ जनाले आय विवरण बुझाएकोमा आव २०८०÷८१ मा यो संख्या बढेर १२ लाख ३५ हजार ८११ पुगेको थियो ।

आर्थिक वर्ष २०८१÷८२ मा आइपुग्दा आय विवरण बुझाउनेको संख्या १५ लाख २ हजार १२० पुगेको विभागले जनाएको छ। अग्रिम कर कट्टी विवरण तर्फ पनि आव २०८१÷८२ मा ५ लाख २७ हजार ६९३ विवरण प्राप्त भएका छन् ।

करदाताको संख्या बढे पनि मूल्य अभिवृद्धि करमा विवरण नबुझाउने (नन–फाइलर) को संख्या भने बढ्दो क्रममा देखिएको छ । तथ्यांक अनुसार २०७७ असारमा १२.११ प्रतिशत रहेको नन–फाइलरको संख्या २०८१ असारमा २७.९५ प्रतिशत पुगेको थियो भने २०८२ असार महिनाको तथ्यांकमा यो ह्वात्तै बढेर ४५.४९ प्रतिशत पुगेको देखाइएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया