डा. गोविन्द केसी र सरकारबीच सातबुँदे सहमति, अनसन समाप्त
फाष्ट मिडिया नेपाल संवाददाता
१२ साउन २०८३, मङ्गलबार ०७:४४ मा प्रकाशित
265
इटहरी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर धनगढीमा अनसनरत डा. गोविन्द केसी र सरकारबीच सातबुँदे सहमति भएको छ। सहमतिपछि डा. केसीले बिहीबारदेखि जारी अनसन आज तोडेका छन्।
सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइनेछ। एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृति तथा अन्य शैक्षिक तयारी पनि शीघ्र पूरा गरिनेछ।
यस्तै, शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा अन्य पूर्वाधारको व्यवस्था तत्काल मिलाइने सहमति भएको छ।
सहमतिमा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनबाटै अघि बढाउने, पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न सरकारसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ।
त्यस्तै, नेपालमा सञ्चालित चिकित्साशिक्षा संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने व्यवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्ने सहमति भएको छ।