मिसावटयुक्त तीन हजार लिटर दूध नष्ट, डिडिसीमा गुणस्तर सुधार
खगेन्द्र कार्की
२४ असार २०८३, बुधबार ०९:५२ मा प्रकाशित
564
इटहरी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। गुणस्तर मापदण्ड कडाइका साथ लागू गर्दै शङ्कास्पद दूध तत्काल हटाउने, ‘फ्याट’ र ‘एसएनएफ’का आधारमा खरिद प्रणाली परिमार्जन गर्ने तथा प्रयोगशालामा पुनः परीक्षण गर्ने व्यवस्था लागू भएपछि सुधार देखिएको संस्थानले जनाएको छ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार अब चिस्यान केन्द्रहरूले ‘फ्याट’ र ‘एसएनएफ’को मापदण्डका आधारमा दूध सङ्कलन गरी चलानी पठाउँछन् भने आयोजना पुगेपछि प्रयोगशालामा पुनः परीक्षण गरिन्छ। मापदण्डभन्दा कम गुणस्तर वा शङ्कास्पद दूध तत्काल हटाउने व्यवस्था पनि गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असार १५ गते गरेको परीक्षणमा चिस्यान केन्द्रले चलानीमा उल्लेख गरेको विवरणभन्दा कम गुणस्तरको दूध फेला परेपछि प्रधानमन्त्री कार्यालयले तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएको थियो। त्यसपछि सबै चिस्यान केन्द्रको परीक्षण सुरु गरिएको छ भने यसअघि देखिएका कैफियतबारे पनि छानबिन जारी रहेको संस्थानले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले दोषी जोसुकै भए पनि कारबाही गर्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन कडा निर्देशन दिएको छ। त्यसअनुसार न्यून गुणस्तरको दूध सङ्कलनमा लापरबाही गरेको चितवनको भरतपुर चिस्यान केन्द्रका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ। अन्य चिस्यान केन्द्रका प्रमुखसँग तीन दिनभित्र स्पष्टीकरण मागिएको छ।
यस्तै, मिलेमतो भएको आशङ्कामा आयोजनाको प्रयोगशालामा कार्यरत कर्मचारी मनहरि शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको छ। स्पष्टीकरणपछि थप कारबाही प्रक्रिया अघि बढाइने डिडिसीले जनाएको छ। साथै, आगामी दिनमा चिस्यान केन्द्र र आयोजनाको प्रयोगशाला परीक्षणबीच गुणस्तरमा फरक देखिए सम्बन्धित आयोजना प्रमुखलाई नै जिम्मेवार बनाइने व्यवस्था गरिएको छ।
डिडिसीका अनुसार असार १८ गतेदेखि आयोजनामा प्राप्त दूधको गुणस्तरमा एकरूपता आएको छ। मापदण्डभन्दा कम गुणस्तरको तथा मिसावट भएको करिब तीन हजार लिटर दूध प्रयोगशाला परीक्षणपछि नष्ट गरिएको संस्थानले जनाएको छ।