झापाका सहकारीहरु करोडौं युवा स्वरोजगार अन्तर्गतको कर्जा बुझाएनन्

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । झापाका सहकारीले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको करोडौं रकम अझै बुझाएका छैनन । झापामा सञ्चालित आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको कर्जा नबुझाएका हुन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार झापाका आठ वटा सहकारीले चार करोड २८ लाख तीन हजार नौ सय ३६ रुपैयाँ ४४ पैसा रकम नतिरेको भेटिएको छ ।

कोषबाट लिएको रकम नतिर्ने झापाका सहकारीहरु मध्ये सबैभन्दा धेरै रकम नतिर्ने सहकारीको रुपमा लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था रहेको छ । जसले कोषमा ६३ लाख तीन सय ६२ रुपैयाँ ५० पैसा तिर्नुपर्ने रहेको छ । यसैगरी पहिलो पाइला बहुउद्देश्य सहकारी संस्थाले ६० लाख ४१ हजार दुई सय ४३ रुपैयाँ ९५ पैसा, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्थाले ५४ लाख ५७ हजार तीन सय ७७ रुपैयाँ ९९ पैसा र बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले ५४ लाख ३५ हजार तीन सय ९९ रुपैयाँ ६७ पैसा रकम तिर्नुपर्ने रहेको छ ।

यसैगरी, पूर्वाद्र्ध कृषि सहकारी संस्थाले ५२ लाख ६२ हजार सात सय ६८ रुपैयाँ १८ पैसा, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाले ४९ लाख ८५ हजार एक सय ७१ रुपैयाँ ११ पैसा, त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्थाले ४७ लाख ८६ हजार दुई सय १४ रुपैयाँ ४१ पैसा र लक्ष्मीपुर कृषि सहकारी संस्थाले ४५ लाख ३५ हजार ९८ रुपैयाँ ४४ पैसा रकम तिर्नुपर्ने देखिन्छ ।

कोषका झापा जिल्लाका प्रतिनिधि सन्तोष सापकोटाका अनुसार कोषको रकम नतिर्ने सहकारीहरुलाई कारवाही गरिने बताए । उनले भने, ‘यि सहकारीहरुलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । यिनीहरुलाई कारवाही गर्नका लागि हामीले सम्बन्धित पालिकाहरुलाई पत्राचार गरिसकेका छौं ।’उनले भने, ‘सम्बधित पालिकाहरु मार्फत सहकारीहरुको जायजेथा रोक्का गर्ने तथा अन्य कारोवारहरु बन्द गर्ने काम भइरहेको छ ।’

यो कार्यक्रम स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगार मूलक व्यवसायिक परियोजना सञ्चालन गर्नका लागि सञ्चालनमा ल्याइएको हो । साथै, स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलव्ध गराई उद्यमशीलताको विकासमार्फत देशमै स्वरोजगारका अवसर सिर्जना गर्न नेपाल सरकारले वि.सं. २०६९ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरी स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार र सांस्कृतिक रूपमा जागरुक एवम् सिर्जनशील बनाई युवा स्वरोजगार कार्यक्रममा उनीहरुको सहज पहँच, प्रयोग र परिचालन गर्न सक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराई कार्यक्रमलाई प्रभावकारी बनाउन युवा स्वरोजगार कोष कार्यक्रमका गतिविधि र क्रियाकलापहरु सञ्चालनमा आइरहेका छन् ।

आर्थिक रुपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्व पीडित, अपाङता, घाइते परिवार तथा सहिद परिवार एवम् युवाहरु तथा परम्परागत सीप भएका जातजातिहरूलाई व्यवसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रति व्यक्ति बेरोजगार युवाहरूलाई पाँच लाखसम्म आवधिक कर्जा र निःशुल्क व्यावसायिक तालिम उपलब्ध गराई तिनीहरूको आय आर्जनमा बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु यसको मुख्य उद्देश्य रहेको थियो ।

यस कोषले बैंक तथा वित्तीय संस्थाहरु मार्फत् प्राप्त गरेको विपन्न वर्ग कर्जा स्वरोजगार कार्यक्रममा वार्षिक चार प्रतिशत ब्याजदरमा लगानी गर्ने गरेको छ । साथै कोषबाट प्राप्त रकम सम्बन्धित वित्तीय संस्था तथा सहकारी संस्थाहरुले बढीमा आठ प्रतिशत ब्याजदरमा युवालाई लगानी गर्ने मापदण्ड रहेको छ ।

तर, सहकारी संस्थाले लगानी गर्दा सहकारीमा सदस्य भएको ३ महिनापछि मात्र लगानी गर्ने भएकाले व्यवसाय गर्ने इच्छाशक्ति भएका वास्तविक युवाहरू भने सहुलियत ऋणबाट बञ्चित भएका थिए । सहकारी संस्थालाई उपलब्ध गराइएको कर्जा व्यवसाय विस्तारमा लगाइएको अध्ययनका क्रममा पाइएको छ । कोषको कार्यविधि, २०७७ अनुसार कोषको बैंक खाताको सञ्चालन कार्यकारी निर्देशक र आर्थिक प्रशासन शाखा प्रमुखको दस्तखतबाट हुनुपर्ने  उल्लेख छ । तर खाता सञ्चालन कार्यकारी निर्देशक र कोषको वित्त शाखा प्रमुखको दस्तखतबाट हुने गरेको पाइएको छ । प्रतिवेदन अनुसार कोषले बैंक तथा वित्तीय संस्थामा ३३ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।

देशभरमा १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रुपैयाँ ३९ पैसामध्ये २७ करोडभन्दा बढी रकम ५० वटा सहकारी संस्थाले नतिरेको पाइएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया