इटहरी/ इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन् । एमाले–कांग्रेस समर्थित संयुक्त उम्मेदवार नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै उनले संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने कीर्तिमान कायम गरेकी हुन् ।निर्वाचन अधिकृत तथा संघका पूर्वअध्यक्ष टंक दुलालका अनुसार कटुवालले ७५८ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिस्पर्धी काफ्लेले ७४३ मत पाए । कुल १ हजार ५४२ मत खसेको निर्वाचनमा ४१ मत बदर भएको थियो । अध्यक्ष पदको मतपरिणाम आइतबार राति सार्वजनिक गरिएको हो ।इटहरीमै जन्मिएर व्यवसायमार्फत स्थापित कटुवालको जितलाई उद्योग वाणिज्य संघको निर्वाचनमा लामो समयदेखि देखिँदै आएको राजनीतिक गठबन्धनको अभ्यासमाथिको चुनौतीका रूपमा हेरिएको छ । उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै प्रमुख राजनीतिक दलको समर्थन प्राप्त उम्मेदवारलाई पराजित गरेकी हुन् । संघको निर्वाचन असार २७ गते इटहरीस्थित ज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । मतगणनापछि अन्तिम नतिजा संघको सभाहलबाट सार्वजनिक गरिएको हो ।यसैगरी, एसोसिएट सदस्यतर्फ विनोद पौडेल र वस्तुगत सदस्यतर्फ संयोज पराजुली निर्विरोध निर्वाचित भए । महिला सदस्यमा सुमित्रा भट्टराई र मिना ढकाल निर्वाचित भएका छन् । उद्योगतर्फ शिवप्रसाद भट्टराई (भूपाल), अभिषेक बस्नेत, किशनकुमार खेडिया र हरिप्रसाद तिम्सिना निर्वाचित भए । वाणिज्यतर्फ दिनेशप्रसाद धमला, बलबहादुर न्यौपाने, सन्नी चौधरी, संजय साह, सञ्जीव खड्का, जीवनकुमार न्यौपाने, महेश थापा, बलराम बस्नेत र सिनेट रिजाल कार्यसमितिमा निर्वाचित भएका छन् ।
३० असार २०८३, मङ्गलबार १०:२४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो