www.fastmedianepal - Epaper
करिब एक वर्षको अवरोधपछि ’राष्ट्रिय युवा जागरण’ पुनः तपाईंहरूको हातहातमा आइपुगेको छ। यो केवल एउटा पत्रिकाको पुनः प्रकाशन होइन, सत्य, विचार र जनआवाजलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धताको पुनः उद्घोष पनि हो।
वि.सं. २०६४ मंसिर ९ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भई प्रकाशन सुरु भएको राष्ट्रिय युवा जागरण तत्कालीन राजनीतिक संक्रमणको महत्त्वपूर्ण मोडमा जन्मिएको थियो। जनआन्दोलन २०६२÷०६३ को सफलतापछि मुलुक संविधानसभा निर्वाचनको तयारीमा थियो। परिवर्तनप्रति जनताको आशा, लोकतान्त्रिक मूल्य र युवाको सक्रिय भूमिकालाई आत्मसात् गर्दै यही ऐतिहासिक परिवेशमा यस पत्रिकाले आफ्नो यात्रा प्रारम्भ गरेको थियो।
त्यसयता देशको राजनीतिक, सामाजिक र आर्थिक परिवेशमा धेरै परिवर्तन भए। सञ्चार क्षेत्र पनि तीव्र रूपमा रूपान्तरित भयो। छापा माध्यममाथि डिजिटल सञ्चारको चुनौती थपियो। यिनै विविध परिस्थितिका कारण राष्ट्रिय युवा जागरण केही समय नियमित रूपमा प्रकाशन हुन सकेन। तर, विचार र प्रतिबद्धता कहिल्यै स्थगित भएनन्। आज पुनः प्रकाशनसँगै हामी नयाँ ऊर्जा, नयाँ सोच र थप जिम्मेवारीका साथ पाठकमाझ फर्किएका छौं। हामी विश्वास गर्छौं—समाजलाई सही दिशा देखाउने एउटा स्वतन्त्र, जिम्मेवार र विश्वसनीय सञ्चार माध्यमको आवश्यकता आज झन् बढेको छ। सूचना केवल छिटो दिनु मात्र पत्रकारिताको उद्देश्य होइन; सत्य, सन्तुलित र तथ्यमा आधारित सूचना प्रवाह गर्दै जनमत निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नु पनि उत्तिकै महत्त्वपूर्ण दायित्व हो। यही मूल्यलाई आत्मसात् गर्दै राष्ट्रिय युवा जागरण अघि बढ्नेछ।
हाम्रो प्राथमिकता स्थानीयदेखि राष्ट्रिय सरोकारका विषयलाई तथ्यपरक ढंगले प्रस्तुत गर्नु, युवाका सिर्जना, सोच र सम्भावनालाई स्थान दिनु, विकास, सुशासन, शिक्षा, कृषि, उद्यम, वातावरण, संस्कृति तथा सामाजिक उत्तरदायित्वका मुद्दालाई प्राथमिकताका साथ उठाउनु हुनेछ। सत्ताको प्रशंसा वा विरोध होइन, जनपक्षीय पत्रकारिता हाम्रो मूल धर्म हुनेछ। यो पुनः प्रकाशन सम्भव हुनुमा हाम्रा शुभेच्छुक, विज्ञापनदाता, लेखक, समाचारदाता, वितरक र विशेष गरी हाम्रो पत्रिकालाई निरन्तर माया गर्ने पाठकहरूको साथ र विश्वास नै सबैभन्दा ठूलो शक्ति बनेको छ। उहाँहरू सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनमा पनि रचनात्मक सुझाव, आलोचना र सहकार्यको अपेक्षा गर्दै राष्ट्रिय युवा जागरणलाई तपाईंहरूको आफ्नै पत्रिकाका रूपमा स्थापित गर्ने हाम्रो प्रयास निरन्तर रहनेछ। हामी फेरि यात्रामा उभिएका छौं । सत्यको पक्षमा, समाजको हितमा र युवाको जागरणको पक्षमा निरन्तर, यहाँको साथ, सहयोगको अपेक्षासहित । – सम्पादक
७ साउन २०८३, बिहिबार ०८:०९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो