देवानगञ्ज घटनापछि सर्वदलीय प्रतिबद्धता, सुरक्षा नेतृत्व फेरबदल र प्रभावित क्षेत्रमा कफ्यु हट्यो, निषेधाज्ञा कायमै

खगेन्द्र कार्की

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि र सरोकारवालाले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सामाजिक सद्भाव कायम राख्न संयुक्त प्रतिबद्धता जनाएका छन्। घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको सरुवा गर्दै पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ भने प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ। बैठकले निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउने, अफवाह फैलिन नदिने र जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सबै पक्ष संयमित बन्ने सहमति गरेको छ।
यसैबीच, गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाई उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवे, सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्की र डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर नयाँ अधिकारीहरूलाई जिम्मेवारी दिइएको छ।
आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो। झडपका क्रममा दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण हुनुका साथै सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिले घटनाको कारण, सुरक्षा व्यवस्थाको अवस्था, बल प्रयोगको परिस्थिति तथा समग्र घटनाक्रमबारे अनुसन्धान गर्नेछ।
सुनसरीको देवानगन्ज र आसपासका क्षेत्रमा जारी गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ । शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षपछि स्थानीय जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु हटाइए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा भने कायम राखिएको छ । प्रशासनले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने व्यवस्था लागू गरेको हो । 

खगेन्द्र कार्की
प्रतिक्रिया