लगातार हारले संकटमा नेपालको विश्वकप यात्रा

cVSedOCloS

एजेन्सी । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालको लगातार कमजोर प्रदर्शनले सिधै विश्वकपमा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्यान्ड्स भ्रमणमा चारमध्ये तीन खेल गुमाएपछि नेपाल पाँचौँबाट छैटौँ स्थानमा झरेको छ भने क्रिकेट विश्लेषक तथा कमेन्टेटर एन्ड्रयु लियोनार्डले पनि नेपालको प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन्। नामिबियासँग तीन रनको हारपछि उनले नेपाल अब विश्वकप क्वालिफायर प्लेअफ खेल्ने लगभग निश्चित भएको र टोलीको मुख्य लक्ष्य सातौँ वा आठौँ स्थानमा नपरी एकदिवसीय ९ओडीआई० मान्यता जोगाउनु हुनुपर्ने बताएका छन्।
नेपालको कमजोर प्रदर्शनको प्रमुख कारण ब्याटिङको निरन्तर असफलता देखिएको छ। कम स्कोर भएका खेलमा पनि शीर्षक्रमका ब्याटरहरूले लामो साझेदारी बनाउन सकेनन् र दबाबका बेला आवश्यक रन जोड्न असफल भए। नामिबियाविरुद्ध करण केसीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य ब्याटरबाट अपेक्षित साथ नपाउँदा जित्न सकिने खेल तीन रनले गुमाउनुपर्‍यो। एन्ड्रयुका अनुसार कम्पोङ मैदानको चुनौतीपूर्ण पिचमा नेपाली ब्याटरहरूले परिस्थितिअनुसार खेल्न नसक्दा टोलीले मूल्य चुकाएको हो।
नेपाल केही खेलाडीको व्यक्तिगत प्रदर्शनमा बढी निर्भर देखिएको छ भने निर्णायक क्षणमा अवसर सदुपयोग गर्न नसक्दा लगातार हार बेहोर्नुपरेको छ। साथै, एसोसिएट राष्ट्रहरूबीचको प्रतिस्पर्धा पछिल्ला वर्षमा निकै कडा बनेकाले सामान्य गल्तीले पनि नतिजामा ठूलो प्रभाव पारिरहेको छ। हालसम्म ३१ खेलमध्ये ११ खेल मात्र जितेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ। यस्तो अवस्थामा शीर्ष चारमा पुगेर सिधै विश्वकपमा छनोट हुने सम्भावना अत्यन्त कमजोर बनेको छ। अब नेपालका लागि बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्दै सातौँ वा आठौँ स्थानमा नझर्नु र ओडीआई मान्यता जोगाउँदै विश्वकप क्वालिफायर प्लेअफमार्फत अर्को अवसर सुरक्षित गर्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।

cVSedOCloS
प्रतिक्रिया