श्रीराम टोबाको शेयर कारोबार प्रकरणले तान्यो विष्णु पौडेललाई अनुसन्धानको घेरामा

खगेन्द्र कार्की

इटहरी ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गर्नुको मुख्य आधार रुपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले दिएको बयान रहेको खुलेको छ। म्याद थपका लागि विशेष अदालतमा सरकारी पक्षले पेश गरेको दाबीमा यो विषय उल्लेख भएपछि अदालतमा तीव्र बहस भएको छ।

सरकारी पक्षका तर्फबाट उपन्यायाधिवक्ता भीमसेन काफ्लेले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेलमाथि अनुसन्धान अघि बढाइएको जानकारी अदालतलाई दिएका छन्। सरकारी पक्षका अनुसार मालपानी र शर्माको बयानले पौडेलले श्रीराम टोबाकोको शेयर सस्तो मूल्यमा बिक्री गराउन सहजीकरण गरेको देखाएको दाबी गरिएको छ।

अदालतमा पेश गरिएको विवरणअनुसार हिमालयन एसेट म्यानेजमेन्टमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको उल्लेख छ। यसअघि दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गर्दा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त कम्पनीको नाम समावेश गरेको थियो।

यता पौडेल पक्षका कानुन व्यवसायीहरूले भने आरोपको कडा प्रतिवाद गरेका छन्। वरिष्ठ अधिवक्ता केदार कोइराला, रमेश बडाल र शान्तिराम खतिवडालगायतले बयान दिने व्यक्तिहरूलाई अनुसन्धानको दायरामा नल्याई उनीहरूले नाम लिएकै आधारमा पौडेललाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको संकेत भएको जिकिर गरेका छन्।

उनीहरूले आरोपित सहजीकरणको कुनै ठोस प्रमाण सरकारी पक्षले प्रस्तुत गर्न नसकेको दाबी गर्दै केवल बयानका आधारमा पक्राउ गर्नु न्यायिक सिद्धान्तविपरीत भएको तर्क गरेका छन्। साथै, बयान दिने व्यवसायीहरूसँग सम्बन्धित अन्य पक्षहरूमाथि पनि समान रूपमा अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

मालपानी र चुन्नप्रसाद शर्मा रुपन्देहीका व्यवसायिक साझेदारका रूपमा परिचित छन्। उनीहरू खैनी, गुट्खा तथा ‘करेन्ट’ चाउचाउ उत्पादनसँग सम्बन्धित उद्योग व्यवसायमा संलग्न रहेको बताइएको छ।

पौडेलमाथिको अनुसन्धान र पक्राउ प्रक्रियालाई लिएर अदालत, राजनीतिक दल तथा सार्वजनिक वृत्तमा बहस चुलिएको छ। अब विशेष अदालतको निर्णय तथा अनुसन्धानबाट प्राप्त हुने थप तथ्यले यस प्रकरणको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया